INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतको आदेशपछि मतपत्र काठमाडौं पुर्‍याइयो

जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा १ को मतपत्र र मुचुल्का काठमाडौँ लगेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन कार्यालयले पुस २८ गते शुक्रबार उक्त प्रदेश सभा अन्तर्गत खसेको मतपत्र र मुचुल्का काठमाडौं लगेको निर्वाचन अधिकृत गोविन्द गिरीले बताए ।

सशस्त्र प्रहरीको कडा सुरक्षा घेरामा शुक्रबार नै मतपत्र काठमाडौँ पुर्‍याइएको छ । सर्वोच्चले नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले पुनः मतदान हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न आदेश दिएको थियो ।

फरकफरक बुथमा एउटै मतगणना भएको निवेदक पक्षको दावीका आधारमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्नका लागि मतपेटिका हेर्ने निष्कर्षका साथ सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो । यसअघि सर्वोच्चले दुवै पक्षलाई छलफलमा मात्र बोलाएको थियो ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को निर्वाचनमा ५ मतले पराजित भएपछि पुनःमतदान हुनुपर्ने माग गर्दै पौडेलले पुस ६ गते सर्वोच्च अदालतमा उजुरी निवेदन दर्ता गराएका थिए । तनहुँ २ को प्रदेशसभा (क) मा पौडेललाई माओवादी केन्द्रकी उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइरालाले ५ मतको झिनो अन्तरले पराजित गरेकी थिइन् ।

२ हजार ३ सय २८ मत खसेको केन्द्रमा २ हजार ३ सय ७० गणना गर्दै धाँधली भएको दावी रिटमा गरिएको थियो । ३७ मतले विजयी भएको आफूलाई हराउन दुई ओटा बुथमा ४२ मत दुई पटक गणना भएको दावी पौडेलको रिटमा गरिएको छ ।

अन्य

भिडियो