अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगतको सन्दकपुर गाउँपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागीगहरूले कृषिवालीको बीमा हुनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी सन्तोष खतिवडाले कृषि र पशु प्राविधिकको उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले गाउँपालिकाबाट वितरण हुने बीउ विजनको अनुगमन गर्नुपर्ने, रैथाने खाद्य पदार्थ तथा पशुपंक्षीहरु व्यवस्थित गर्न गाउँपालिकाको विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो ।
अन्तरक्रियामा शोभा पराजुलीले आफूहरु निर्वाचित भएपछि कृषि क्षेत्रमा धेरै काम गरेको बताउनु भयो । उहाँले खाद्य अधिकारका सवालहरुलाई गाउँपालिकाले आफ्ना योजनाहरुमा समेट्ने प्रतिवद्धता जनाउनु भयो ।
इन्सेकले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच छलफल गराएको इन्सेक सहजकर्ता नारद चापागाईले बताउनु भयो ।


