INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले इन्सेकले हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरी पीडितको न्याय र गल्ती गर्नेहरूलाई खबरदारी गरेको बताए ।

Photo20190626Kapilvastu (1)

इन्सेकले वर्ष पुस्तकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार र मौलिक हकका सवालमा प्रतिवेदन उल्लेख गरेको भएपनि मौलिकहकहरू अझै कार्यान्वयन हुन नसकेको बताए ।

उनले वैदेशिक रोजगारीमा जाँदा बेचबिखनमा पर्ने गरेको उल्लेख गर्दै सिमा नाकाहरूमा कडाई गर्नु पर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले इन्सेकले बेलाबेलामा विभिन्न कार्यक्रममार्फत राज्यका निकायलाई सचेत बनाउँदै आएकोले राज्यका निकाय जबाफदेही बन्न वर्ष पुस्तक सहयोगी रहेको बताए ।

Photo20190626Kapilvastu (2)

नेपाल प्रहरीका एसपी दिपशम्सेर राणाले विभिन्न अपराधिक गतिविधि बढिरहेकोले नागरिक समाजले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

सशस्त्र प्रहरीका एसपी दिपक अधिकारीले मानव अधिकारप्रति प्रहरी सधैँ सचेत रहेको भन्दै राज्यका निकाय, प्रहरी, कर्मचारीका कमजोरी भए जानकारी दिन आग्रह गरे ।

शिक्षा समन्वय एकाईका प्रमुख थानेश्वर घिमिरेले शिक्षामा सबैभन्दा धेरै समस्या रहेकोले नीतिगत तहबाट  सुधार गर्नु पर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रविण श्रीवास्तवले इन्सेकको प्रतिवेदनमा महिला हिंसाका घटना बढेको देखिएकोले बनेका कानुन राज्यका निकायले कार्यान्वय गरे महिला हिंसामा कमी आउने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसालले इन्सेकले घटना सार्वजनिक गर्नुको साथै आफूले गरेका कामले कतिले न्याय पाए भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गर्न सुझाए ।

यसैगरी मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले कतिपय स्थानीय तहले लक्षित वर्गको बजेट  नछु्याइएको र दुरूपयोग गरेको विषयमा छानविन गरी प्रतिवेदनमा राख्नु पर्ने सुझाव दिए ।

पिआरसि नेपालका संयोजक भुमिराज भट्टराईले सिमाक्षेत्रमा मानव बेचबिखनका घटना बढेको भए पनि  प्रहरीले आफैँ निगरानी गर्नु पर्नेमा संस्थाहरूले समातेर प्रहरीमा बुझाएका घटना समेत दर्ता नगरेको आरोप लगाए  ।

मानव अधिकार निगरानी समूहकी संयोजक पुष्पा रेग्मीले यातायातमा महिलाले पाउने सुविधा नपाएको विषय पनि समेटनु पर्ने बताइन् ।

अधिकारकर्मी माया ज्ञवालीले मानसिक असन्तुलन भएका महिलाहरू यौन हिंसामा पर्ने गरेकोले उनीहरूको सुरक्षाको विषयमा राज्य जिम्मेवार हुनु पर्ने बताइन् ।

दलित महिला सङ्घकी अध्यक्ष माया नेपालीले स्थानीय सरकारले महिला, दलित तथा जनजाती, मधेशीलगायत लक्षित बर्गलाई बजेट विनियोजन नगरेको आरोप लगाइन् ।

इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले सन् २०१९ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङ्कलन गरिएका हत्या राज्य पक्षबाट एक, अन्य पक्षबाट एक, घाइते राज्य पक्षबाट एक, गिरफ्तार आठ, बाल अधिकार उल्लङ्घनका नौ, महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव र दुर्व्यवहारमा ७९, मानव बेचबिखन तथा ओसारपसारमा दुई, परिवार जनबाट हत्यामा तीन ओटा गरी १ सय ४ ओटा घटना अभिलेख गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नन्दराम पौडेल

अन्य

भिडियो