अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३ गते सम्पन्न गरिएको छ ।
इन्सेकले सन् २०१८ को जनवरीदेखि अक्टुबरसम्ममा जिल्लामा सङ्कलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।

वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०१८ को जनवरीदेखि अक्टुबरसम्म सङ्कलन गरेका ९१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा अभिलेखित घटना अनुसार बलात्कारका ३२ ओटा, बलात्कार प्रयासका २२ ओटा, बहुविवाहका ११ ओटालगायत ९१ ओटा घटनाहरू रहेका छन । अभिलेखित ९१ ओटा घटनामा ९० महिला सहित ९९ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि परियारले जनाए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले इन्सेकको वर्ष पुस्तकले राज्यको उपस्थिति कहाँ कस्तो रहेको प्रष्ट हुने भएकाले कमजोरी सच्याउन सहयोग पुग्ने बताए । महिला हिंसाका घटनाहरू बृद्धि भएकाले यसको रोकथामको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताए ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले यसमा मानव अधिकारका सम्पूर्ण बुँदाहरूलाई समेटेर प्रकाशन गर्न डिएसपी थापाले सुझाव दिए ।
दुर्गा परियार