चम्पादेवी गाउँपालिकाका ४५ वर्षीय प्राविधिक मिनबहादुर कार्कीलाई सोही गाउँपालिकाका प्रमुख नवराज केसीले पुस १३ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
केसीको कुटाईबाट सोही गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक कार्की घाइते भएका छन् । घटना कुटपिटबाट घाइते कार्कीको अनुहार र शरीरमा चोट लागेको चम्पादेवी गाउँपालिका वडा नं. ७ का अध्यक्ष सुरेश थापाले बताए ।
बेलुकीको खानपानका बेला विवाद भई सामान्य झगडा भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । घटनाको बारेमा टेलिफोनबाट जानकारी भएपनि जिल्ला प्रशासन कार्यालयमा कुनै पनि उजुरी नआएको तथा घटनाबारे गाँउ पालिकामा नै छलफल भएको जानकारी आएको पनि उनले जानकारी दिए ।
गाँउपालिका प्रमुख केसीको कुटाईबाट घाइते भएका कर्मचारी कार्कीले बिना कारण आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।
गाँउपालिकाको केही वडाहरूमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको समेत कार्य सम्पन्न प्रतिवेदन बनाउन दबाव दिएको र काम नभएको योजनाको कार्य सम्पन्न स्टमेट गर्न नमानेकाले आफूमाथि कुटपिट गरेको पीडित कार्कीले आरोप लगाए ।
घटनाको बारेमा गाँउपालिका प्रमुख नवराज केसीले टेलिफोनमा यसबारे प्रमुख कार्यकारी अधिकृतसँग कुरा भएको बताउँदै घुमाउरो तरिकाले स्वीकार गरे पनि आफूले नकुटेको दावी गरे । आफ्नै कर्मचारी भएको बताउँदै बाहिर आएका कुरा वाहियात भएको तर्क केसीले अघि सारेका छन् ।
यसअघि पनि चम्पादेवी गाँउपालिकाका प्रमुख केसीले सोही गाँउपालिका-९ का सर्वसाधारण काजी सार्कीलाई बाम गठबन्धनमा लागेको आरोपमा कुटपिट गर्दा सार्कीको दाँत नै भाँचिएको थियो । केसीको अराजक व्यवहारले गाउँपालिकाका कर्मचारी त्रसित भएका छन् ।