INSEC Online

📅 २०८३ जेष्ठ २१

अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्नलगायत मागहरू राखी ०८२ साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेको र निजको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले ०८२ साउन १५ गते विज्ञप्ति प्रकाशित गरी बाँसको प्रबद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नु पर्ने माग राखिएको जनाएको छ ।

निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन समेत भन्ने लगायतका मेयर भट्टराईले माग राखेको आयोगले जनाएको छ ।

अनशनस्थल माइतीघर तथा वीर अस्पताल पुगी आयोगले अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग समेत आयोगले जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।

मेयर भट्टराई माइतीघर मण्डलामा अनसन बस्ने योजना बनाई सिंहदरबार हुँदै अगाडि बढ्दै गर्दा निजलाई प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको पाइएको आयोगले जनाएको छ । स्थानीय प्रशासनले अनशनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि निज भट्टराईले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको पाइएको आयोगले उल्लेख गरेको छ ।

अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको पाइएको आयोगले जनाएको छ ।

वीर अस्पतालका अनुसार अनशनरत मेयरको स्वास्थ्य अवस्था गम्भीर (ब्लडप्रेशर, सुगर र मुटुको धड्कन कम भएको) बन्दै गए पनि निजले थप उपचारको लागि भर्ना भई उपचार गर्न अस्वीकार गरेको बुझिएको छ ।

वार्ताबाटै समस्या समाधानका लागि भट्टराईसँग सरकारका प्रतिनिधिहरूले अनौपचारिक छलफल गरिरहेको समेत जानकारी प्राप्त भएको जनाइएको छ ।

अतः निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्य

भिडियो