तातोपानी गाउँपालिका-२ निवासी सोही वडाका वडा सदस्य मुनबहादुर डाँगीलाई पुस ९ गते दिउँसो सोही ठाउँका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
वडा सदस्यको हैसियतले हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा योजना तर्जुमा र विविध बैठकमा गएको अवस्थामा सार्वजनिक बाटोको विषयमा कुरा नमिलेकै कारण कुटपिट गरेको पीडित डाँगीले बताए । सार्वजनिक स्थानमा चरित्र हत्या हुने गरी दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।
आरोपित तीनै जनाले सामूहिक रूपमा लछारपछार गरी जमिनमा पछार्दा पीडितको नाकबाट रगत आएको स्थानीयबासी रामबहादुर रावलले बताए ।
घटनामा संलग्न व्यक्तिलाई सार्वजनिक अपराध ऐन अनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पुस ११ गते पीडित पक्षले उजुरी दिएको छ ।
उजुरीका आधारमा घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते डाँगीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएपछि घर फर्किएका छन् ।