INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारजनबाटै असुरक्षित कर्णालीका महिला

वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले ०८२ साउन १० गते राति ४१ वर्षीया पत्नी रविना थापाको चिर्पट प्रहार गरी हत्या गरे । ठाडाले राति २ बजे सुतेको बेला चिर्पटले प्रहार गरी हत्या गरेपछि प्रहरीले घटनास्थलबाटै उनलाई गिरफ्तार गर्‍यो । आरोपित ठाडा पाँच वर्ष पहिले नेपाली सेनाको अमलदार पदबाट रिटायर्ड हुन् । साउन ११ गते शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भयो । मृतकका एक छोरा तीन छोरी छन् । छोरा रोजगारीका लागि दुबई र जेठी छोरी जापानमा छन् । माइली र कान्छी छोरी सुर्खेत र दैलेखमा छन् । यो घटना मात्रै होइन, वैशाख यता कर्णाली प्रदेशमा तीन जना महिलाको पतिद्धारा हत्या गरिएको छ ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको ०८२ असार १७ गते राति पति ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले खुकुरीले घाँटी रेटेर हत्या गरे । त्यस्तै भेरीगंगा नगरपालिका–१२ स्थित झिंगेनारा खोलामा गुर्भाकोट नगरपालिका–८ की २६ वर्षीया प्रेमा ओलीको ०८२ वैशाख २१ गते नेपाली सेनामा कार्यरत पति २८ वर्षीय दर्शन खत्रीले ढुङुगा प्रहार गरी हत्या गरे । यी त प्रतिनिधीमूलक घटना मात्रै हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा पति, आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १०, ०८०/०८१ मा २२ र ०८१/०८२ को असारसम्म नौं जनाको हत्या परिवार र आफन्तबाटै भएका छन् । आ.व. ०७९/०८० मा पतिद्वारा पत्नीको हत्याका नौं, आर्थिक वर्ष ०८०/०८१ मा नौं र आर्थिक वर्ष ०८१/०८२ मा चार घटना छन् । पत्नीद्वारा पतिको हत्या आर्थिक वर्ष ०८०/०८१ मा दुई र आर्थिक वर्ष ०८१/०८२ मा एक घटना छन् । यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बाबुको हत्या दुई घटना रहेका छन् । यसबाहेक सौतेनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भेनाजुद्वारा सालाको हत्या, मामाद्वारा भान्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्याका घटना रहेका छन् । तथ्याङ्क हेर्दा पतिद्वारा पत्नीको हत्याको संख्या बढी देखिन्छ । यस्तै इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा कर्णाली प्रदेशभर आफन्त र अन्य पक्षबाट ३६ जनाको हत्या गरिएको अभिलेख राखेको छ  । त्यस्तै २०२५ मा  २७ जनाको हत्या गरिएको इन्सेकसँग अभिलेख छ । यी संख्यामा महिलाको बढी हत्या भएको छ ।

मानव अधिकारकर्मीहरुको अनुगमन

शनिबार राति वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा पत्नीको चिर्पट प्रहार गरी हत्या गरिएको घटनापछि इन्सेक लगायत सुर्खेत स्थित मानव अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले संयुक्त अनुगमन गरेका छन् । आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले महिला माथि हुने घरेलु हिंसा र हत्या जस्ता जघन्य अपराधहरू राज्यको बेवास्ता र कमजोर कानुनी कार्यान्वयनका कारण बढ्दो रहेको बताउनु भयो । ‘वर्षेनी महिलाहरुले पति र आफन्तबाटै ज्यान फाल्नुपरेको छ । तर राज्य गम्भीर देखिँदैन,’ उहाँले भन्नुभयो, ‘हामी घटनाको निष्पक्ष अनुसन्धान र पीडित पक्षलाई न्याय सुनिश्चित गर्न माग गर्छौं ।’

गैरसरकारी संस्था महासंघका सुर्खेत अध्यक्ष प्रकाश सारुले समाजमा महिला र बालबालिका माथि हुने घटनाको विषयमा पहिला नै सुचना लिई आवश्यक परामर्श लिनुपर्ने बताउनु भयो । ‘हामी सबै संस्था र तीनै तहका सरकार मिलेर यस्ता घटनाहरु न्युनीकरण गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘जोखिममा रहेका महिला र बालबालिकाको तथ्याङ्क संकलन गर्नुपर्छ । सोही अनुसार सचेतना, सुरक्षा र प्रशिक्षण गर्नु आवश्यक छ ।’

नवज्योती केन्द्रकी सिस्टर रोसिटाले राज्यले कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नवज्योति केन्द्रकी जरमाया बाठाले राज्यले स्थानीय स्तरमा सचेतनाका कार्यक्रमहरु गरी प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । दलित महिला संघ (फेडो) की सचिव खगीसरा वलीले यस्ता घटनाले समाजमा महिला र कमजोर वर्गको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको बताउनु भयो । ‘यस्ता घटनालाई हल्का रूपमा लिन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘राज्यको भूमिका कमजोर भयो भने हिंसाका घटना झनै बढ्छन् ।’ अनुगमन टोलीमा इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका संस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

अन्य

भिडियो