INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo Kathmandu20820404 (2)

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारिले ओसिएमसीको सेवा बारे समुदायलाई पनि जानकारी हुन आवश्यक रहेको साथै लैङ्गिक हिंसा प्रताडितलाई न्यायमा पहुँच बढाउन सहज हुने बताउनु भयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको रक्षा नागरिक प्रहरी दुवै मिलेर गर्नु पर्ने बताउनु भयो । गौतमले इन्सेकले मानव अधिकारको संरक्षण र सम्बर्धनमा महिला तथा बाल अधिकारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भयो ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जालकी कोषाध्यक्ष अधिवक्ता रसना ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितको लागि प्राथमिक उपचार र न्यायमा ओसिएमसी प्रभावकारी माध्यम बनेको बताउनु भयो ।

कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था बारे महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख इन्स्पेक्टर सरस्वती कार्कीले प्रस्तुत गर्नु भएको थियो । अपराधको स्वरुप परिवर्तन भएको र महिला बालिका  मात्रै नभएर पुरुष माथि पनि हिंसा बढ्नुका साथै लिभिङ टुगेदरमा बस्ने प्रचलन बढेको र धेरै वर्षसम्म सँगसँगै बस्ने र पछि बलात्कारको उजुरी पर्ने गरेको पनि इन्स्पेक्टर कार्कीले बताउनु भयो । साथै उहाँले कानुनले सम्बोधन नगरेको घटना क्रम बढ्दै गइरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा थापाथली प्रसुति गृहकी ओसिएमसी प्रतिनिधि सुकु लामाले अस्पतालमा आधारित एकद्वार सङट व्यवस्थापन केन्द्र २४ घण्टा खुला रहने र प्रहरीबाट आउने केशहरू बढ्दै गइरहेको बताउनु भयो । लैङ्गिक हिंसा प्रताडितहरूलाई न्यायमा पहुँच बढाउन ओसिएमसिले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने जिकिर गर्नु भयो ।

Photo Kathmandu20820404 (4)

यसैगरी शुभ अवसर ग्राम नेपालकी रन्जना शर्माले मानव बेचबिखनमा परेका व्यक्तिहरूमा पर्ने मानसिक असर तथा संस्थाले गरेको काम बारे प्रस्तुति गर्नु भएको थियो । नेपाल सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा प्रताडितहरूकाे लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको र काठमाडौँ जिल्लामा मात्रै प्रसुति गृह थापाथली, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल र टेकु स्थित अस्पतालमा ओसिएमसीको सेवा रहेको जानकारी दिनु भयो ।

कार्यक्रमको समापन गर्दै एसपी कुलदिप चन्दले ओसिएमसी सेवालाई अझ प्रभावकारी बनाउन र पीडितको न्यायको लागि प्रहरी र नागरिक मिलेर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रम इन्सेक र शुभ अवसर ग्राम नेपालको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ओसिएमसी प्रतिनिधिहरू र विभिन्न सङ्घ संस्थाहरूको उपस्तिथि रहेको थियो ।

Photo Kathmandu20820404 (1) Photo Kathmandu20820404 (5)  Photo Kathmandu20820404 (3)

अन्य

भिडियो