INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरुलाई कैद सजाय र जरिबाना

बलात्कार सम्बन्धी तीन ओटा छुट्टाछुट्टै घटनाका तीन जना आरोपितहरुलाई दैलेख जिल्ला अदालतले ०८२ असार ३० गते कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले भैरबी गाउँपालिका–१ रावतकोटका ३० वर्षीय दीपेन्द्रबहादुर बिष्टलाई सात वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

आरोपित बिष्टले १९ वर्षीया युवतीलाई ०७९ पुस २५ गते बलात्कार गरेर गर्भ रहेपछि जात नमिलेको भन्दै स्वीकार नगरेपछि पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।   जिल्ला अदालतको ०७९ चैत २० गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा नौमूले गाउँपालिका–२ बालुवाटारका १९ वर्षीय सूर्यबहादुर गिरीलाई जिल्ला अदालतको ०८२ असार ३० गतेको फैसलाले १२ वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । आरोपितले बालिकालाई ०८० असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन १० गते गिरफ्तार गरेको थियो ।

त्यसैगरी १९ वर्षीया अशक्त युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई जिल्ला अदालतको असार ३० गतेको इजलासले आठ वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । आरोपितले युवतीलाई ०८१ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई असोज २५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो