INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ वर्ष बितिसक्दा पनि पुल नबन्दा नागरिकहरुलाई समस्या

स्वर्गद्वारी नगरपालिकाको— ३ र ७ वडा जोड्ने माडी नदीको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको छ ।

२०७३ वैशाख १६ गते निर्माण कम्पनी मृत संजिवनी\लोहनी ब्रर्दशले ९ करोड ८५ लाख रुपियाँमा २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने गरी पुल निर्माणको लागि सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख इन्जियिनर विसुनदास लामाले बताउनु भयो । उक्त पुल समयमा नबन्दा अहिलेसम्म पाँच पटक म्याद थप भइसकेको पछिल्लो समय थप भएको म्याद समेत कात्तिक ८ गते सकिएको कार्यालयले अब निर्माण कम्पनीले जरिबना तिरेर २ सय दिनभित्र काम सक्नुपर्ने प्रमुख इन्जिनियर लामाले जानकारी दिनुभयो । ८० मिटर लामो पुलको आधा भाग पुल मात्र बनेको छ । निर्माण व्यवसायीले कोभिड, आर्थिक अभाव लगायतका कारण देखाउँदै समयमै काम नगरेको स्थानीयको आरोप छ ।

Photo 2025-07-14 Pyuthan

“वर्षात सुरु हुन लाग्दा काम गरेजस्तो गर्ने र अलपत्र पार्ने गरिएको छ,” स्थानीय स्वर्गद्वारी नगरपालिकाको — ७ का खिमप्रसाद पाधेयले भन्नुभयो, “निर्माण व्यवसायीले लापरबाही र ढिलासुस्तीले विकासमा समेत बाधा पुगेको छ ।” उहाँले उक्त पुल नबन्दा भिंगृ क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभयो । समयमै पुल निर्माण नहुँदा निकै समस्या भोग्नु परेको स्वर्गद्वारी नगरपालिकाको — ७ का ४७ वर्षीया खेमबहदुर भण्डारीले बताउनु भयो । स्वर्गद्वारी नगरपालिका—७, ५ र ८ वडाका गरी करिब २ सय १० घर परिवारले प्रत्यक्ष लाभावित हुने पुल समयमा निर्माण नहुँदा दैनिक उपभोग्य साम्रगीहरु ढुवानी गर्न, बिरामीहरुलाई अस्पताल पुर्याउन समस्या परेको भण्डारीले गुनासो गर्नुभयो ।

पुल निर्माणको लागि सम्झौता भएअनुसार समयमै काम सम्पन्न भई नागरिकहरुले सेवा सुविधा पाउनु पर्नेमा पुल अलपत्र रहेकोले निर्माण कम्पनी, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र राजनीतिक दलहरुको सर्वपक्षीय बैठक राखी छिटो भन्दा छिटो पुल निर्माण कार्य सम्पन्न गर्न पहल गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । निर्माण कम्पनीका प्रतिनिधि आनन्द लोहनीले कम्पनीले बैठक बस्दा दुई चार महिना भित्र काम सक्ने प्रतिवद्धता गर्ने गरे पनि समयमै काम गर्न आनाकानी गरिरहेको र काम सम्पन्न गर्नको लागि आफू लागि परेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

अन्य

भिडियो