INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको गुनासो : राज्यले हामीलाई बेवास्ता गर्‍यो

संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विषयमा नीति निर्माणमा अपेक्षित सहभागिता नभएको गुनासो गरेका छन् । तर पनि आफूहरुको यात्रा निरन्तर चलिरहेको  कर्णाली इन्द्रेणी आवाज संस्थाकी अध्यक्ष अञ्जली बिसीले बताउनु भयो । ‘प्रदेश सरकार वा स्थानीय तहले हाम्रो उपस्थिति कहाँ देख्छन् ? योजना, बजेट, कार्यक्रममा हामी कहिले पनि ‘अनदेखा’ भयौँ,’ अञ्जलीले भन्नुभयो, ‘ कुनै दिन म सडकमा हिँड्दा उ छक्का र हिजडा आई भन्नेहरु अहिले सम्मान गरेर नमस्कार भन्छन् । अब हामी लुकेर बस्दैनौँ, हामीले देखिने, सुन्ने र प्रभाव पार्ने ठाउँ बनाउने हो ।’

कर्णालीमा खुलेर बोल्न थालेको कुरा ठूलो परिवर्तन भएपनि धेरै काम गर्न बाँकी रहेको र समाजलाई सकरात्मक सोचतर्फ अगाडी बढाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

Photo 2025-06-23 Surkhet

लैङ्गिक  तथा यौनिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्नका लागि संस्था नै दर्ता गरेर अगाडी बढेको  विसीले बताउनु भयो ।  ‘हामीले अब डराएर बस्ने अवस्था छैन,’  विसीले भन्नुभयो, ‘अब हामी आफ्ना कुरा आफैँ उठाउँछौं । त्यसमा सरकार र समुदायले सहयोग गर्नुपर्छ ।’

उहाँका अनुसार ०८१ असोजमा दर्ता गरिएको उक्त संस्था कर्णाली कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । उहाँले उक्त संस्था मार्फत कर्णालीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (एल,जी,बि,टि,आई,क्यू,प्लस) को हक, अधिकार र पहिचानका विषयमा काम गर्न स्थापना गरिएको बताउनु भयो ।

उहाँहरुले विभिन्न निकायसँग सहकार्य गरेर विद्यालय, समुदाय, संचार माध्यम र सरकारी निकायहरूसम्म मुद्दाहरु अगाडी बढाइरहनु भएको छ । त्यसैका माध्यमबाट कर्णाली इन्द्रेणी आवाजले अहिले समुदायभित्र यौनिकता, पहिचान, स्वास्थ्य, आत्मबल र कानुनी अधिकारसम्बन्धी परामर्श दिन थालेको छ । सम्पूर्ण समाजले स्वीकार गरिसकेको अवस्था भने अझै आइसकेको छैन । परिवार, समुदाय, शैक्षिक संस्था र सेवाप्रदायक निकायबाट अझैपनि भेदभाव र हेय दृष्टिकोण खेप्नुपर्ने अवस्था भएकोले कर्णालीमा २ सय ५० को संख्यामा भएपनि ३० जना मात्रै अहिले खुलेको उहाँले बताउनु भयो । अञ्जली भन्नुहुन्छ, ‘प्रहरी प्रशासनदेखि विद्यालयसम्म लैङ्गिक र यौनिक अल्पसंख्यकमैत्री सेवा सुनिश्चित गर्न सकिएको छैन ।’

पारिवारिक अस्वीकार र चिन्ताका कारण आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता आफूले भोगेपनि अहिले अवस्था परिवर्तन हुँदै गएको जेनिसा नेपालीले बताउनु भयो ।

 ‘पहिला आफूजस्ता मानिस कोही छन् भन्ने थाहा नै थिएन । समाजको घृणा र तिरस्कारले आफ्नो जीवन देखेर वाक्क लाग्थ्यो,’ जेनिसाले भन्नुभयो, ‘त्यो हिसाबले डर लाग्थ्यो, लाज लाग्थ्यो । तर अहिले म आफैँ प्रेरणाको स्रोत बन्न थालेकी छु ।’ जेनिसाको जन्म पुरुषको भएपनि उहाँ महिलाको भेषभुषामा हिँड्नुहुन्छ । उहाँ सुर्खेतमा पहिचानसहित खुलेर प्रस्तुत हुन थालेको १० वर्ष भयो ।

कर्णालीमा पछिल्लो समय आफूजस्ता मानिसहरू भेटिन थालेपछि परामर्श र समर्थनका माध्यम पनि विस्तार भइरहेको २२ वर्षीय सहिस खानले बताउनु भयो । ‘पहिला लाग्थ्यो, म मात्र फरक छु,’ २२ वर्षीय खानले भन्नुभयो, ‘अहिले थाहा भयो, हामी धेरै छौँ, र हामी एकअर्कालाई सम्हाल्न सक्छौँ । तर परिवार र समाजको साथ आवश्यक छ ।’ कर्णाली जस्तो पारम्परिक सोच भएको क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक विषयमा खुल्नु चुनौती भएको सोनु चौधरीले बताउनु भयो । ‘मैले खुल्न पनि धेरै संघर्ष गर्नुपर्यो । पहिलो कुरा परिवारलाई मनाउनपर्यो । समाजको अपहेलनाका कारण सहजै मान्दैनन्,’ उहाँले भन्नुभयो, ‘परिवारलाई मनाएपछि समाजले कुरा काट्छ । त्यसपछि समस्या नै समस्या हुन्छ ।’

अन्य

भिडियो