INSEC Online

📅 २०८३ जेष्ठ २१

बिपद् प्रभावितले पाएनन् राज्यबाट पाउनु पर्ने रकम

बागलुङ जिल्लाका बिपद् पीडित लाभग्राहीले सरकारले उपलब्ध गाउनु पर्ने रकम लामो समयदेखि पाउन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार जिल्लाका बिपद् पीडित लाभग्राहीले ६ करोड ५ लाख रुपियाँ प्राप्त गर्न बाँकी रहेको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा लाभग्राहीले रकम प्राप्त गर्नु पर्ने भए पनि लाभग्राहीको आवश्यक कागजातहरु अपुग हुँदा रकम निकासा हुन नसकेको हो ।

गत वर्षसम्मका २ सय ३२ जना लाभग्राहीहरु तथा चालु आर्थिक वर्षका आठ जना लाभग्राहीहरुलाई रकम वितरण हुन सकेको छैन ।

अघिल्लो आर्थिक वर्षसम्म ताराखोला गाउँपालिकामा नौ जना, बागलुङ नगरपालिकामा ३२, गलकोटमा एक, ढोरपाटन नगरपालिकामा ८३, जैमिनि नगरपालिकामा ३५, बडीगाड गाउँपालिकामा २३, तमानखोला गाउँपालिकामा चार, निसीखोला गाउँपालिकामा ३८ र बरेङ गाउँपालिकामा सात जना लाभग्राही कायम भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको जेठसम्ममा बरेङ गाउँपालिकामा एक जना, गलकोट नगरपालिकामा तीन जना, बडिगाड गाउँपालिकामा तीन जना र काठेखोला गाउँपालिकामा एक जना लाभग्राही कायम भएका छन् । चालु आर्थिक वर्षमा कायम भएका लाभग्राहीले पहिलो किस्ताको रकम पाइ सकेका छन् ।

चालु आर्थिक वर्ष भन्दा पहिलाका लाभग्राही मध्ये पहिलो किस्ता २ सय ३२ जना सबैले पाएका छन् । त्यस्तै दोस्रो किस्ता ८३ जनाले पाएका छन् भने १ सय ४९ लाभग्राहीले दोस्रो किस्ता पाउन बाँकी छ । त्यसैगरी अन्तिम किस्ता ४० जनाले पाएका छन् भने १ सय ९२ जनाले पाउन बाँकी छ । गत आर्थिक वर्षसम्म कायम भएका लाभग्राहीहरुले ५ करोड ७७ लाख रुपियाँ पाउन बाँकी छ भने चालु आर्थिक वर्षमा कायम भएका लाभग्राहीहरुले २८ लाख प्राप्त गर्न बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयको संघिय विपद् कोषमा ५ करोड ७ लाख ७ हजार ७ सय ५० र प्रदेश विपद् कोषमा २ करोड ४६ लाख १५ हजार रुपियाँ गरी कुल ७ करोड ५३ लाख ९३ हजार ७ सय ५० रुपैंया मौज्दात रहेको प्रजिअ गुरुङको भनाइ छ । उहाँ भन्नुहुन्छ– ‘हामीसँग पर्याप्त रकम छ तर स्थानीय तह हुँदै तथा लाभग्राहीले ल्याउने आवश्यक कागजातहरु नहुँदा बितरण हुन सकेको छैन ।’

राज्यले व्यवस्था गरेको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनस्र्थापना कार्यविधि २०७७ र आगालागी जन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा अनुदान कार्यविधि २०७८ बमोजिम प्राप्त गर्नु पर्ने रकम लाभग्राहीले नपाएका हुन् ।

अन्य

भिडियो