INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यानमा एक हजारभन्दा बढी घर शौचालयविहीन !

सल्यानमा एक हजार घर शौचालयविहिन रहेको पाइएको छ । २०७३ असार १७ मा तत्कालीन खानेपानी तथा सरसफाइ कार्यालय सल्यानको संयोजकत्वमा बृहत् कार्यक्रम गरेर धुमधामका साथ जिल्लाका ४६ हजार ३ सय ४२ घरमा मापदण्ड अनुसार शौचालय निर्माण गरेको भन्दै सल्यानलाई खुला दिसामुक्त घोषणा गरियो । घोषणा गरेको नौ वर्ष पुग्नै लागे पनि अझै सल्यानमा १ हजारभन्दा बढी घर शौचालविहीन छन् ।

०७८ को जनगणना अनुसार सल्यानमा ५४ हजार ७ सय १ घरधुरी छन् । तीमध्ये १ हजार ८३ घरमा अझै शौचालय छैन । जिल्लाको पालिका स्तरीय तथ्याङ्क अनुसार शारदा नगरपालिकामा १ सय २६, बनगाड कुपिण्डे नगरपालिकामा २ सय २५, बागचौर नगरपालिकामा २८, कपुरकोट गाउँपालिकामा ६०, त्रिवेणीमा ८८, कालिमाटीमा २ सय २६, सिद्धकुमाखमा ८७, कुमाखमा ८७, छत्रेश्वरीमा ८१ र दार्मा गाउँपालिकामा ७५ घरमा शौचालय छैनन् । तथ्याङ्क अनुसार जिल्लामा सेप्टिक ट्याङ्क भएका चर्पी सबैभन्दा धेरै ३८ हजार ८ सय ३२ घरमा छन् । सार्वजनिक ढल भएको १ हजार ४ सय ३६, साधारण १३ हजार २ सय ३८ र सार्वजनिक ८३ ओटा शौचालय छन् ।

अभियानका क्रममा निर्माण भएका कतिपय शौचालय गतिलो नभइ छोटो समयमै जीर्ण भएका र पर्याप्त मात्रामा पानीको अभावमा प्रयोगविहीन छन् । कतिपय त घाँसदाउरा राख्न प्रयोग हुने गरेका छन् । बेलाबेला सरसफाइ तथा खुला दिसामुक्तका लागि विभिन्न कार्यक्रम गर्दै आएका स्थानीय तहले शौचालय नभएका घरमा नयाँ निर्माण गर्न खासै चासो देखाएका छैनन् । घोषणा गरिसकेपछि सम्बन्धित निकाय मौन रहेको, दाताको सहयोगबिना धेरै रकम खर्च गरेर शौचालय बनाउने अवस्था नरहेको कालिमाटी गाउँपालिका–१, लक्ष्मीपुरका स्थानीय दुर्गाबहादुर रावतले बताउनु भयो । पानीकै समस्याका कारण बस्तीका २० परिवार जङ्गलमा गएर शौच गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

‘लामो समय हिँडेर ल्याएको पानी खाना पकाउन र खान ठिक्क हुन्छ । नुहाउन तथा कपडा धुनका लागि खोलै झर्नुपर्छ । शौचालयको लागि पानी ल्याउने त कसैले सोच्दै सोच्दैनन् । अधिकांश शौचालय प्रयोगविहीन मात्र नभइ अहिले जीर्ण छन् । सबैको आर्थिक अवस्था कमजोर भएकाले कसैले नयाँ बनाउन सकेका छैनन् । दिसापिसाब लाग्यो भने सबै घर नजिकैको जङ्गलतिर दौडिन्छन्’ – उहाँले भन्नुभयो ।

कालिमाटी गाउँपालिका–१ का वडा अध्यक्ष रविलाल बस्नेतले ८ सय घरपरिवार रहेको वडामा २४ घरमा शौचालय नभएको र भएका पनि पानीको अभावमा प्रयोगमा आउन नसकेको बताउनु भयो । स्वास्थ्य सचेतनाका अभावमा स्थानीयले शौचालय बनाउन चासो नदेखाएको उहाँको भनाइ छ । ‘पानीको अभावमा प्रयोगविहीन धेरैका शौचालय घाँसदाउरा राख्ने स्थानमा परिणत भएका छन्’ – उहाँले भन्नुभयो ।

खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठ पहिलाको तुलनामा घरधुरी बढेको कारण धेरै घर शौचालयविहीन भएको हुन सक्ने बताउनु भयो । ‘विगतमा के आधारमा खुला दिसामुक्त घोषणा गरियो र पछिल्नो समय धेरै घर किन शौचालयविहीन भए भनेर यो वर्ष हामी अवस्था विश्लेषण गर्नेछौँ’ – उहाँले भन्नुभयो ।

Photo03062025Salyan

अन्य

भिडियो