यार्सागुम्बा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरीका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि विद्यालय बन्दभएका हुन् ।
यार्सा संकलनको सिजन सुरु भएकाले ०८२ जेठ ४ गतेबाटै पालिकाभरीका विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउदले जानकारी दिनुभयो ।
अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले जेठ २४ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने गरी २० दिनको लागि बन्द गरिएको र बर्खेबाट विदा मिलान गर्ने उहाँले बताउनु भयो ।
जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरीका २४ ओटा सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

‘यार्सागुम्बा संकलन नगर्ने हो भने केटाकेटी कसरी पढाउनु,’ अपिहिमाल गाउँपालिका–२ का स्थानीय गगनसिह लोथ्यालले भन्नुभयो, ‘वर्षभरीको कमाइ यहि यार्सागुम्बा हो । यार्सागुम्बा संकलनमा बालबालिका नलिने हो भने के खानु ? कसरी पढाई खर्च धान्नु ।’ अन्न उत्पादन कम हुने भएकोले स्थानीयले जेठ–असार महिनामा संकलन गरिएको जडीबुटी बेचेर वर्षभरीको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् ।
यहाँका स्थानीयले दुई दशक बढी समय भयो यार्सागुम्बा खोज्न थालेको । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान पुग्दैन्, लोथ्यालले भन्नुभयो, अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा संकलन गरेर वर्षभरीको जोहो चलाउन ठिक्क हुन्छ ।
अपिहिमाल गाउँपालिका–३ का कमलसिंह धामीले अभिभावक भन्दा पनि हिमाली जडिबुटी यार्सागुम्बा बालबालिकाले बढि भेट्टाउने र यार्सागुम्बा संकलन खोज्न निकै कष्टकर हुने भए पनि जिविका चलाउनको लागि बालिबालिका सहति लेक जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।
यार्सागुम्बा संकलनकै लागि काठमाडौँ, धनगढी र दार्चुला सदरमुकाम, खलंगामा अध्ययन गर्न गएका विद्यार्थी समेत यार्सागुम्बा संकलन हुने क्षेत्र पाटन पुगेका छन् । काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भन्नुभयो, ‘यार्सागुम्बा संकलनको लागि ०८२ वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यार्सागुम्बा खोजेर फेरि काठमाडौँं फर्किन्छौं ।’ अहिले यार्सागुम्बा संकलन गर्न गएका धामी दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउनु हुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ । ‘यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैं धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यहाँका स्थानीय ०८२ वैशाख अन्तिम साता यार्सागुम्बा संकलनका लागि पाटन गइसकेका छन् ।

यार्सागुम्बा खोजेरै वर्षभरी घरखर्च, बालबच्चा पढाउनका लागि जोहो गर्न सहज हुने स्थानीयहरुले बताउने गरेका भए पनि यार्सा संकलिनको सयमा यसभन्दा अगाडी बालबालिका र स्थानीयहरु घाइते हुनुको साथै ज्यान समेत गुमाएका छन् ।
दार्चुला बहुमुखी क्याम्पस खलंगामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपि पुगेका छन् । ‘एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाई निरन्तरता दिन्छु,’ उहाँले भन्नुभयो, ‘अहिले पढाई मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु प¥यो ।’
वर्षमा दुई बाली मात्र हुने अपिहिमालका खेतबाट उत्पादित अन्नले वर्षभरी पुग्दैन । घरमा जागिर नहुनेका लागि दुई ओटा विकल्प मात्र रहन्छ ।
यो वर्ष मौसम खराब देखिएकोले संकलकहरु थोरै त्रासमा छन् । पटकटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा संकलन गर्नुपरेको यार्सागुम्बा संकलक मानसिह धामी बताउनुहुन्छ । घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश अपिका गाउँ रित्ता भएका छन् ।
१२ वर्षदेखि ५० वर्षसम्मका सबै मानिसहरु पाटनमा जाने गर्छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिकाका बासिन्दा लेक उक्लिएका छन् ।
जिल्लाको सबै भन्दा बढी यार्सागुम्बा संकलनको लागि अपिहिमालको अपीहिमालको लोलु, रिङ्देपानी, सतगंगा कालीढुंगा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगंगा, चाइमटेला लगायतका क्षेत्रमा हजारौँ सङ्ख्यामा संकलक पुगेका छन् । यस्तै व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवन लगायतका ठाउँमा यार्सागुम्बा संकलन हुने गर्छ ।
जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनको लागि हरेक वर्ष अनुमति पत्र जारी गर्ने गर्छ । तर, संकलकहरु लेक पुगिसक्दा पनि हालसम्म कार्यालयले ७ सय जना बढिले मात्रै अनुमति लिएका छन् ।
कार्यालयले जिल्लाका १० ओटा ठाउँबाट संकलन अनुमति पत्र जारी गरिरहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाका प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताउनु भयो । सबैले अनिवार्य रुपमा परिचय–पत्र लिएरै मात्रै संकलन गर्नु पर्ने कानुनी प्रावधान छ । जिल्लाबाट हरेक वर्ष ५ देखि ७ कुण्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ ।