सरकारले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हक भनेर संविधानमै व्यावस्था गरेपनि व्यावहारमा बिपन्न परिवारहरुले उपभोग गर्न निकै मुस्किल छ । मालिका गाउँपालिका–३, ह्वाङदीको एउटा परिवारमा तीन जना व्यक्ति स्वास्थ्य समस्याले पीडित छन् । तर, घरमा आर्थिक अवस्था राम्रो नहुँदा अत्यावश्यक औषधी किनेर खाने अवस्था हराउँदै गएको छ ।
मालिका गाउँपालिका–३, ह्वाङदीकी ६३ वर्षीय खगिश्वरा घर्तिमगरका कान्छा छोरा २२ वर्षीय जीवन घर्तीमगर तीन वर्षदेखि दुवै मिर्गौला भएर पीडित हुनुहुन्छ । घर दृष्टिविहिन पतिको भरमा छन् । किनकी खगिश्वराले छोराको उपचारमा घर छोडेका तीन वर्ष भए । आफैले २५ वर्षदेखि मुटुको औषधी खानुहुन्थ्यो ।
गत वर्षबाट पाठेघरको समस्या थपिएको घर्तिमगरले बताउनु भयो । अवस्थाले आफैले औषधी खाने पैसा छैन । उहाँले ६ महिनामा हुने स्वास्थ्य परीक्षण गर्न पैसा नभएर वर्षदिनमा जाने गरेको भए पनि अहिले छुटिरहेको गुनासो गर्नुभयो । आर्थिक अभावकै कारण सात कक्षा पढेर भारत पुग्नुभएका कान्छा छोरा जीवन दुवै मिर्गौला फेल भएर गाउँ आएपछि जेठो छोरा यक बहादुर घर्तिमगर भारत जानुभयो । तर, दुर्घटनामा परेर थला परेका महिनादिन पुगे । अझै बिडम्बना त माइलो छोरा युवराज घर्तिमगर पनि १० वर्षदेखि भारतबाट बेपत्ता हुनुहुन्छ ।
खगिश्वराको जीवनमा पीडाभन्दा अरु केही रहेन । उहाँले सुरुमा गाउँमा ऋणधन गरेर वुटवलमै छोराको डेढ वर्ष डाइलासिल गर्नुभयो । वुटवलमा गर्मी र ठूलो खर्च हुँदा बस्नैसक्ने अवस्था भएन् । गत वर्षदेखि तम्घासमा डाइलासिल गर्दै आउनुभएका घर्तिमगरको औषधी खाने उपाय समेत हराउँदै गएको छ । उहाँलाई आफ्नो अवस्था भन्दा दैनिक नाजुक हुँदै गएको छोराको प्राण कसरी बचाउने होला भन्ने पिर धेरै छ । बिरामी ज्यानमा खगिश्वराले आर्थिक सहयोगको कुनै उपाय नभएपछि सबैसँग छोरालाई बचाउन याचना गर्दै आउनु भएको छ । ‘मैले जेनतेन पकाएर खुवाएकी छु । कोठाभाडा र औषधीसहितको जोहो अब कसरी र कहिलेसम्म गर्ने ? कमाउने छोराहरू बेडमा ढले, बृद्ध र अपाङ्ग पति घरमा छन्’ – उहाँले भन्नुभयो । घरको अवस्था नहुँदा जीवनलाई मिर्गौला ट्रान्सप्लाण्टको आशा नभएकाले कसैले सहयोग गरे डाइलासिस गरेर केही समय बाँच्ने चाहाना मात्रै छ । कमाउने आफूहरूको अवस्था बिजोग भएपछि बुबा आमाको प्रयासले मात्रै मिर्गौला ट्रान्सप्लाण्टको सम्भावना नरहेको जीवनले गुनासो गर्नुभयो ।
जिल्लामा नसर्ने रोगले गरिव तथा बिपन्न परिवारको शरीर सम्पत्ति सकिने अवस्था बनेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सङ्घीय सरकारले विपन्न नागरिक उपचार कोष मार्फत सात किसिमका रोगबाट पीडितलाई २ लाख सहयोग गर्दै आएको छ । त्यसकै तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०८/८१ मा गुल्मीबाट मिर्गाैला पीडित ५५, मुटुको रोगी १ सय २०, क्यान्सरका १ सय ७७, हेड इन्जुरीका एक र स्पाइनल इन्जुरीका ११ गरेर ३ सय ६४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । सानो जिल्लामा साढे तीन सय बढी मुटु, मिर्गौला र क्यान्सर लगायतका रोगका बिरामी हुनु राम्रो सङ्केत नभएको आचार्यले बताउनु भयो ।