मन्थली नगरपालिका–९ को स्थानापति मावि बाङ्गेसल्लामा ०८२ जेठ ५ गते जिल्ला समन्वय समिति रामेछापकी सदस्य ४३ वर्षीय हीराकुमारी गिरी, वडा सदस्य ४६ वर्षीया धनलाल तामाङ लगायतले तालबन्दी गरिदिएका छन् ।
विद्यालयमा पठनपाठन भइरहेको बेला गिरी, तामाङ सहितको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ । विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी विद्यालयमा ताल लगाइएको हो ।
गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भई नतिजा आइसकेको अवस्थामा कानुन अनुसार मनोनित गर्नुपर्ने सदस्य मनोनित गरेर अध्यक्ष चुनी व्यवस्थापन समितिलाई पूर्णता दिनु पर्नेमा त्यसो नगरिएको उनीहरुको आरोप छ । विद्यालय व्यवस्थापन समितिको बैठक राख्न ज्येष्ठ सदस्यले पटक पटक अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको कारण ताल लगाउनु परेको निर्णयमा उल्लेख छ ।
पठनपाठन भइरहेको बेला जनप्रतिनिधिले नै विद्यालयमा तालाबन्दी गरेको कारण पठनपाठन प्रक्रिया अवरुद्ध भएकोले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले ०८२ जेठ ५ गते नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जेठ ६ गते दुवै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिनुभयो ।
