वर्षेनी आउने पहिरोको कारण उच्च जोखिममा रहेको व्यास गाउँपालिका–४ मा अवस्थित भुलचौरा दलित समुदायको बस्ती स्तान्तरण हुनसकेको छैन् ।
दशकौँदेखि पहिरो जाने क्रम नरोकिएको कारण बस्ती पहिरोको उच्च जोखिममा परेको हो । पहिरोका कारण आफूहरुको ज्यूँज्याननै असुरक्षित भएको भन्दै बस्ती स्तान्तरणका लागि पीडित समुदायले मागगरेका छन् ।
यो क्षेत्रमा ०२२ सालदेखि पहिरो जान थालेको हो । पछिल्लो समय ०२८ सालदेखि ०५२ सालमा आएको पहिरोको कारण यस क्षेत्रको एउटा बस्ती पूरै बिस्थापित भएको छ । महाकाली किनारदेखि पहिरो जान थालेकोमा अहिले भुलचौराबस्ती नजिकै पहिरो पुगेको छ ।
भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरि माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको भनाइ छ । भुलचौरा भन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झण्डै ४२ परिवार ०५१ र ०५२ सालमा गएको पहिरोबाट विस्थापित भएका छन् । मडगाउँ पूरै पहिरोले कटान गरेको व्याँस गाउँपालिका–४ का स्थानीय हरकसिह विष्टले बताउनु भयो ।

तत्कालीन सुनसेरा गाउँविकास समिति अन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा रहेको विष्टको भनाइ छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ ।
०७४ सालमा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी, बिन्नालाबस्तीका ३२ घरधुरीको लागि घरनिर्माण गरिएको भए पनि दलितबस्तीको लागि अहिलेसम्म पुनर्स्थापना गरिएको छैन् । बस्ती पुनर्निर्माण र पुनर्स्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलितबस्ती नजिकैसम्म आइपुगेको स्थानीय देवराम कामी बताउनुहुन्छ । अहिले हाम्रो बस्ती भन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो वर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा रहे पनि आफूहरुको स्थानान्तरण हुन नसकेकोमा कामीले गुनासो गर्नृ भयो ।
उहाँका अनुसार खेतीयोग्य जमिनको आधा भन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमीन पनि जोखिममा छ । खेतियोग्य जमिन पूरै कटान भइरहेको कारण के खाने भन्ने अवस्था सिर्जना भएको छ । गाउँमा मजदुरी गर्न पनि भनेजस्तो काम पाउँदैन् । हामीहरुको भएको जमीन तल सर्दै गएको छ ।
यस क्षेत्रमा निरन्तर रुपमा भइरहेको भूक्षयका कारण बस्तीको अस्तित्व नै संकटमा परेको छ । कयौं घरहरु चर्किएका छन् । यो ठाउँबाहेक अर्को ठाउँमा जमीन नहुँदा आफूहरु स्थानान्तरण हुन नसकेको उहाँले बताउनु भयो । “घर पुनर्निर्माण तथा पुनर्स्थापनाको लागि बजेट आइदिएको भए पनि आफन्तसँग जमिन मागेर अर्को ठाउँ सर्न हुन्थ्यो,” उहाँले भन्नुभयो, “तर आफैले घर बनाउन पैसा समेत छैन् ।” यो बस्तीमा १६ घरधुरीका १ सय बढि दलितको बसोबास छ ।

प्रदेश सरकारमार्फत भइरहेको तडबन्धमा दलित परिवारलाई नसमेटेरै पहुँचको भरमा काम भइरहेको कामीको गुनासा छ । उहाँले भन्नुभयो, “हामीले हाम्रो बस्ती जोगाउन तडबन्ध बनाऔं भन्यौं, तर यहाँ राजनीतिक सहमतिमा अर्के समिति बनेर काम भइरहेको छ ।” बस्ती हाम्रो डुब्दैछ, तडबन्ध अरुले मनपरी तवरले भिन्नै ठाउँमा बनाइरहेको उहाँको आरोप छ ।
व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिंह कुँवरका अनुसार अबको एक मात्र विकल्प बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु हो । “हामीले धेरै पटक माथिल्ला निकायहरूमा जानकारी गराएका छौँ । तर, हालसम्म कुनै प्रभावकारी पहलकदमी भएको छैन,” उहाँले भन्नुभयो । सामान्य तडबन्ध विगतदेखि नै महाकाली किनारबाटै सुरु भएको छ । तर, चिप्लो सतह भएका कारण माटो पग्लिएर पहिरो जाने गरेको छ । अहिले पनि प्रदेश सरकारमार्फत तडबन्ध निर्माण गर्ने कार्य भइरहेको छ । अहिले बस्ती भन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलोखोलामा तडबन्ध भइरहेको छ । तडबन्ध निर्माण प्रदेश सरकारमार्फत भइरहेको हुँदा कसरी समिति बनेर काम भइरहेको हो भन्ने विषयमा आफू जानकार हुन नसेको उहाँको भनाइ छ ।
गाउँपालिकाले यो आर्थिक वर्षमा अतिविपन्न दुई ओटा परिवारको घरको लागि बजेट विनियोजन गरेको जनाएको छ । सबै घरधुरी एकैपटक पुनस्थाँपना तथा पुनर्निर्माण गर्न सक्ने श्रोत गाउँपालिकासँग नभएको हुँदा प्राथमिकता आधारमा बजेट उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताउनु भयो ।