जिल्लाको पूर्वी श्यामशिला गाविसमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्दा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् ।
६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा दुई जनाको दरबन्दी खाली रहेको भएपनि कार्यालय सहयोगीको भरमा मात्रै खुल्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
स्वास्थ्य चौकीका प्रमुख मधु सुब्बा, अहेव सजिना राई र अनमी ममता राईसमेत विगत तीन हप्तादेखि स्वास्थ्यचौकीमा नभएपछि कार्यालय सहयोगी कुलप्रसाद पराजुलीले स्वास्थ्यचौकी खोल्ने र बन्द गर्ने गर्दै आएको स्थानीयको आरोप छ ।
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सामान्य बिरामीले पनि तीन घण्टाको पैदल हिँडेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीय रामकुमार राइले बताए । स्वास्थ्यकर्मी नभएपछि जिल्ला स्वास्थ्य कार्यालयमासमेत जानकारी गराइसकिएको राईले बताए ।
त्यसैगरी दुईजना कर्मचारी रहेको श्यामशिला पशुसेवा उपकेन्द्र कार्यालय नखुल्दा सेवाग्राही सेवाबाट विमुख भएको स्थानीयले गुनासो गरेका छन् । पशुसेवा उपकेन्द्र प्रमुख कोयम अन्सारी र कार्यालय सहयोगी दीलान राई लामो समय कार्यालय नआउँदा सेवा प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका हुन् ।