INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पताल भवन निर्माण सम्पन्न भएको दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएन

नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको दुई वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको स्थलगत अनुगमन गरेर पनि सञ्चालन गर्ने सन्दर्भमा अन्यौलता रहेको बताउनु भयो । उहाँले सडकको अवस्था कमजोर र बस्ती भन्दा अपायक ठाउँ जस्तो भूगोलमा भएकोले अस्पताल सञ्चालन नै अन्यौल देखिएको बताउनु भएको ।

Photo-2025-05-05 Magdi

भौगोलिक अवस्था तथा सडकको स्तरले गर्दा पनि कहिलेबाट अस्पताल सञ्चालन गर्ने भन्ने एकिन भन्न सक्ने अवस्था नदेखिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पनुले बताउनु भयो ।

अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल गाउँपालिकाको वडा नम्बर –१, दोबामा निर्माण भएको थियो । २०७९ फागुन मसान्तमा निर्माण भएको भवन दुई वर्ष बितिसक्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अझै पनि अन्यौल रहेको छ । केन्द्र सरकारले सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको थियो ।

Photo-2025-05-05 Magdi-01

नेपाल सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि भनेर अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको थियो । अस्पताल भवन निर्माण भइसकेपछि यहाँबाट हामीले गर्नु पर्ने सञ्चालनका लागि आवश्यक प्रकृया पूरा गरेर केन्द्रसम्म पुगेको भए पनि कहिलेदेखि सञ्चालन गर्ने भन्ने टुंगो नभएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनु भयो । स्थानीय तहले गर्नु पर्ने काम गरेर केन्द्रमा ताकेता गरिएको भए पनि आवश्यक प्रकृया, जनशक्ति लगायतका काम केन्द्रबाट हुनु पर्ने त्यो नहुँदा अस्पताल सञ्चालनको कुनै टुंगो छैन ।

तोकिएको मापदण्ड अनुसार अपाङ्गमैत्री पाँच शैया क्षमताको अस्पताल भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । गाउँपालिकाका अनुसार केन्द्र सरकारले तोकेको मापदण्ड अनुसारका सबै मापदण्ड पु¥याएर भवन निर्माण गरिएको हो । उक्त भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहितका कोठा रहेको छ ।

Photo-2025-05-05 Magdi-02

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग ५ करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले भवन निर्माणलाई अगाडी बढाएको र २०७९ फागनु मसान्तभित्रै निर्माण सम्पन्न गरेको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष पुनको भनाइ छ । अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठूलो खर्च व्यवस्थापन गर्नुपर्ने छ, साथै अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँले बताउनु भयो ।

अस्पताल निर्माण गर्नका लागि दोबाका बासिन्दाले १ करोड रुपियाँभन्दा बढी पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै प्रशासनिक कार्य र निर्माण कार्य सकिएको भए पनि अस्पताल सञ्चालनमा आउने कुनै टुंगो नलाग्दा स्थानीय चिन्तीत छन् ।

अन्य

भिडियो