जिल्ला कारागारमा थुनामा रहेका रामेछापको दोरम्बा-सैलुङ गाउँपालिका-२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको उपचारका क्रममा कोशी अस्पतालमा वैशाख २१ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर गौरव ढुङ्गेलले ठगी मुद्दाका थुनुवा तामाङको उपचारका क्रममा ०८२ वैशाख २१ गते कोशी अस्पतालमा मृत्यु भएको बताउनु भयो ।
श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि तामाङलाई उपचारका लागि वैशाख २० गते साँझ कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा तामाङको वैशाख २१ गते बिहान ४ बजेतिर मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो ।
ठगी मुद्दामा तामाङलाई जिल्ला अदालतको आदेशबाट ०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागारमा राखिएको थियो । तामाङविरूद्धको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा तामाङको मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो ।
शव कोशी अस्पतालको शवगृहमा राखिएको र तामाङका परिवार आएपछि जिम्मा दिने कारागार प्रशासनले जनाएको छ ।