सर्वोच्च अदालतले प्रतिनिधि सभातर्फ सर्लाहीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको राससले जनाएको छ ।
न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मङ्सिर २० गते यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।
यादव कुटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मङ्सिर ११ गते उम्मेदवारी खारेज गरेको थियो । यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका थिए ।
सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मङ्सिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि आजलाई बोलाएको थियो ।