याक्थुङ लिम्बू समुदायको ऐतिहासिक पवित्र मन्धुमी स्थलका रूपमा रहेको तमोर नदीमा हाइड्रोपावर निर्माण थालिएको भन्दै निर्माणकार्यलाई तत्काल रोक्न गृह मन्त्रालयमा ज्ञापनपत्र पठाइएको छ ।
सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपाल, फक्ताङ्लुङ गाउँ कार्यसमितिले ०८२ वैशाख १६ गते ताप्लेजुङका प्रमुख जिल्ला अधिकार नेत्रप्रसाद शर्मा पौडेलमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाएको हो ।
फक्ताङ्लुङ गाउँपालिकामा निर्माण गर्न सुरूआत गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माण तत्काल रोक्न सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपालले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
सर्वपक्षीय सहमति नजुटाई जलविद्युत आयोजनाको काम सुरूआत गरिएको भन्दै त्यसलाई तत्काल रोक्न नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपाल, फक्ताङ्लुङ गाउँ कार्यसमितिका अध्यक्ष अदीप लिम्बू तबेबुङले बताउनु भयो ।
तमोर इनर्जी प्रालिले फक्ताङ्लुङ गाउँपालिका हुँदै बग्ने तमोर नदीबाट २ सय ८५ मेघावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको काम सुरू गरेको छ ।
हाइड्रोपावर आयोजनाले स्थानीय याक्थुङ लिम्बू समुदायको ऐतिहासिक पवित्र मन्धुमी स्थलमा असर पार्ने भएकाले निर्माणमा असहमति जनाएको फक्ताङ्लुङ गाउँ कार्यसमितिका अध्यक्ष अदीप लिम्बू तबेबुङको भनाइ छ ।
ऐतिहासिक मुन्धमी तथा पवित्रस्थलमा हाइड्रोपावर परियोजना लागू गर्नुपूर्व स्थानीय भूमिपुत्र लिम्बूसहित आदिवासी समुदायसँग सहमति लिएर मात्र आयोजनको काम गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाइएको अध्यक्ष लिम्बूले बताउनु भयो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको मञ्चले आफ्नो सङ्गठन र स्थानीय लिम्बू आदिवासीहरूसँग छलफल र वार्ता गर्न पनि माग गरेको छ ।
वार्ता र छलफल नगरी वा बिनासहमति स्थानीय स्वायत्तता र मुन्धुमी उद्गम स्थलमा निर्माण कम्पनीले डोजर चलाए अर्थात काम गरे स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा राज्य तथा माथिल्लो निकायसँग आयोजना निर्माण गर्ने अनुमति लिएपनि स्थानीय भूमिपुत्र रैथाने याक्थुङ लिम्बू समुदायसँग सहमति नगरेको, अन्तर्राष्ट्रिय श्रम सङ्गठन आदिवासी समुदायको न्याय र अधिकार संरक्षित आइएलओ १६९ मा प्रदत्त अधिकार तथा व्यवस्थाको उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपाल, भौतिक पूर्वाधार तथा विकास विरोधी नभएको प्रष्ट पार्दै नियम, कानुन, न्याय, अधिकारको कार्यान्वयन गरी विधि र सबै प्रक्रिया पुरा गरेर मात्र आयोजनाको काम गर्न माग गरिएको छ ।
गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउनुका साथै वैशाख १६ गते पत्रकार सम्मेलन गरी माथिल्लो तमोर आयोजनाको विरोधबारे मञ्चले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा सहमति नगरी निर्माण कम्पनीले आयोजनाको कामलाई निरन्तरता दिएमा विरोधसहित थप आन्दोनको कार्यक्रम अघि बढाउने सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपाल, फक्ताङ्लुङ गाउँ कार्यसमितिले जनाएको छ ।
