शिक्षा ऐन जारी गर्न माग गर्दै ०८१ चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयको नतिजा प्रकाशन, भर्ना तथा पठनपाठन प्रभावित बनेको छ ।
शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक वर्ष सुरु भइसक्दा समेत भर्ना अभियान सञ्चालन हुन नसकेको शिक्षा विकास तथा समन्वय एकाई, बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनु भयो ।
केही विद्यालयहरुले अझैसम्म पनि नतिजा प्रकाशन गरेका छैनन् । विशेष गरी कक्षा ८ को ग्रेडबृद्धि परीक्षा समेत सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । नयाँ विद्यालयमा जाने कक्षा १, ६ र ९ मा भर्ना हुने विद्यार्थीहरुलाई बढी समस्या हुने अवस्थीले बताउनु भयो ।
५ सय ३६ सामुदायिक विद्यालय रहेको बैतडी जिल्लामा हाल सबै विद्यालय बन्द छन् । सबै विद्यालयमा पाठ्यपुस्तक भने पठाईसकेको प्रमुख अवस्थीले बताउनु भयो ।

लामो समय विद्यालय बन्द हुँदा यहाँका बालबालिकामा नकारात्मक प्रभाव पर्ने स्थानीय अभिभावक पदक रोकायाले बताउनु भयो । निजी विद्यालयका बालबालिका नियमिति विद्यालय जान सुरुगरेको भए पनि सामुदायिक विद्यालयका बालबालिका गोठालो गोठालो जानु पर्ने बाध्यताले उनीहरुमा नकारात्मक प्रभाव परेको उहाँले बताउनु भयो ।
कक्षा ८ को ग्रेडबृद्धि परीक्षा दिने आशामा रहेको बालबालिकाहरुमा समेत समयमा परीक्षा सञ्चालन नहुँदा नकारात्मक प्रभाव परेको स्थानीय अभिभावकहरुको गुनासो छ ।