INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी भर्ना अभियान अन्यौल, कक्षा आठको मौका परीक्षा समेत रोकियो

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

नेपाल सरकारले विद्यार्थी भर्ना अभियान सुरु गरेको भएपनि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण म्याग्दी जिल्लाका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालयका कर्मचारीहरु विभिन्न माग राखि सङ्घीय राजधानी काठमाण्डौमा आन्दोलनरत छन् । जसका कारण नेपाल सरकारको विद्यार्थी भर्ना कार्यक्रम प्रभावित भएको छ । विद्यार्थी भर्ना कार्यक्रम प्रभावित भए पनि शिक्षक अभिभावक सङ्घ तथा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेका छन् ।

Photo 2025-04-22 Magdi-01

बेनी नगरपालिकाले लिएको कक्षा आठको परीक्षामा अनुत्तिर्ण भएका तथा ग्रेड वृद्धिका लागि वैशाख ४ र ५ गतेका लागि निर्धारण गरिएको परीक्षा समेत स्थगित भएको छ । शिक्षक महासङ्घको आन्दोलनले गर्दा परीक्षा स्थगित भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनु भयो ।

बेनी नगरपालिका–७ मा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठका अनुसार विद्यालयमा आएका विद्यार्थीहरुलाई पुस्तक दिएर पठाएको भए पनि भर्ना लिएको छैन । परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले पुस्तक मागेको खण्डमा उनीहरुलाई दिएका छौं तर भर्ना भने गरिएको छैन । बेनी नगरपालिका– ६ मा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले पनि विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुुवेदीले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेको बताउनु भयो ।

विद्यार्थी भर्ना गर्ने काम विद्यालयको हो उनीहरुले गरेका होलान् । नगरपालिका भित्र केन्द्रीय कार्यक्रम अनुसार १५ गतेसम्म विद्यार्थी भर्ना अभियान चल्ने र अहिले पनि विद्यालयले भर्ना अभियान चलाइ रहेको जानकारी पाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनु भयो । तर विद्यालयहरुले भने विद्यार्थी भर्ना नगरेको जनाएका छन् ।

Photo 2025-04-22 Magdi-02

उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ६ घारको मुक्तिमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक ठगराज बरुवालले आफूहरु आन्दोलनमा काठमाडौं रहेको र विद्यार्थी भर्ना अहिल्यै हुन्छ र कक्षा सञ्चालन हुन्छ भन्ने विषयमा कुनै टुङ्गो नभएको बताउनु भयो । त्यस्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका शिक्षा शाखाका असोक रिजालका अनुसार विद्यार्थी भर्ना गर्ने निर्णय पालिकाबाट भएको भए पनि विद्यालयहरुले भर्ना नगरेको बताउनु भयो ।

त्यसैगरी मुस्ताङको थासाङ गाउँपालिकामा भर्ना अभियान शुरु हुन सकेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास परियारले वैशाख १० गते हुने कार्यपालिका बैठकबाट केही निर्णय आएपछि अन्य कुरा थाहा हुने तर अहिलेसम्म भर्ना अभियानका बारेमा केही नभएको बताउनु भयो ।

त्यस्तै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अहिलेलाई भर्ना अभियान र कक्षा सञ्चालनको विषयमा कुनै निर्णय नभएको बताउनु भयो । उहाँले अहिले भएको विदालाई अन्य विदामा कटौती वा मिलान गर्ने योजना बनाइएको भए पनि भर्ना र कक्षा सञ्चालन अन्यौल भएको बताउनु भयो ।

लोमन्थाङ गाउँपालिकाबा प्रमुख प्रशासकिय अधिकृत विकास केसीका अनुसार अहिलेलाई कुनै पनि प्रकारको निर्णय नभएको र विद्यालयमा भर्नाका बारेमा यसै भन्न सकिएको छैन ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका तथा लोघेकर दामोदर कुण्ड गाउँपालिकामा पनि विद्यार्थी भर्ना अभियान तथा कक्षा सञ्चालनको विषय अन्यौल नै देखिएको छ ।

अन्य

भिडियो