INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशः शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित !

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको हो ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख ३ गतेबाटै पठनपाठन सुरु भइसकेको छ भने सामुदायिक विद्यालयहरू भने आन्दोलनका कारण बन्द अवस्थामा छ । सामुदायिक विद्यालयहरूमा अहिले धमाधम हुनुपर्ने भर्ना अभियान हुन सकेको छैन । कतिपय सामुदायिक विद्यालयहरुले विज्ञप्ति जारी गरी पठन पाठन तथा भर्ना अभियान स्थगित गरिएको जनाएका छन् ।

सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।

Photo20042025Dang2

इन्सेक रुकुम पूर्व जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार शिक्षकहरूको आन्दोलनका कारण रुकुम पूर्वमा पनि विद्यालय भर्ना अभियान प्रभावित भएको छ । भर्ना अभियानका कुनै पनि औपचारिक कार्यक्रम हुन सकेका छैनन् भने सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रम हुन नसकेको स्थानीय अभिभावक बताउँछन् । रुकुम पूर्वमा ९६ आधारभूत र २६ माध्यमिक गरी १ सय २२ विद्यालय छन् । शिक्षक आन्दोलनले भर्ना कार्यक्रममा समस्या परे पनि विद्यालयहरूले भर्नाका लागि अनौपचारिक रूपमा गतिविधि गरिरहेको रुकुम पूर्वका शिक्षा समन्वय प्रमुख तिलक गौतमले बताउनु भयो ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्तिमगरका अनुसार जिल्लाका सबै विद्यालयहरूले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्ने भए पनि कुनै पनि विद्यालयले भर्ना कार्यक्रम सञ्चालन गरेका छैनन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरूमा भर्ना अभियान प्रभावित भएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना प्रभावित बनेका कारण विद्यार्थीहरूको पढाइमा समेत प्रभाव परेको छ । शिक्षक आन्दोलनका कारण विद्यालय भर्ना अभियान र शैक्षिक कार्यक्रम प्रभावित भएकोमा अभिभावकहरूले दुखेसो व्यक्त समेत गरेका छन् ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अनिश्चितकालीन शैक्षिक आमहड्तालको कारण जिल्लाको नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान, कक्षा आठको ग्रेड वृद्धि परीक्षा र कक्षा १२ को वार्षिक परिक्षा प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान ०८२ वैशाख २ गतेदेखि सुरु हुने भए पनि शिक्षकहरूको आन्दोलनका कारण सुरु हुन सकेको छैन । भर्ना अभियान सञ्चालन नहुँदा जिल्लाका करिव ६६ हजार बालबालिका भर्ना हुन र निःशुल्क वितरण हुने पाठ्य पुस्तक वितरण हुनबाट वञ्चित हुन पुगेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन हुने कक्षा आठको ग्रेड वृद्धि परीक्षा समयमा सञ्चालन हुन नसकि स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गरी परीक्षा स्थगित गरेका छन् । वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा पनि आन्दोलनको कारण हुने नहुनेमा आफू अलमल परेको कक्षा १२ मा अध्ययन गर्ने प्यूठान नगरपालिका—३ का बसन्त रिजालले गुनासो गर्नु भयो । लामो समयसम्म शिक्षकहरूले आफ्नो अधिकार खोज्दै गर्दा बालबालिका स्वतन्त्र पूर्वक पठन पाठन गर्न अधिकारबाट वञ्चित हुन पुगी बालबालिकाको  शैक्षिक अधिकार हनन् भएको सरोकारवालाहरुको गुनासो रहेको छ । जिल्लामा सञ्चालित निजी विद्यालयले विद्यार्थी भर्ना लगाएत आफ्ना गतिविधिहरू निरन्तर गरिरहेका छन् ।

Photo20042025Arghakhanchi3

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि कुलबहादुर नेपालीकाका अनुसार शिक्षकहरूको आन्दोलनका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान स्थगित भएको छ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँमा गर्दै आइरहेको हड्तालमा ऐकेबद्धता जनाएपछि जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । महासङ्घले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पुर्‍याउन भन्दै कुनै पनि शैक्षिक गतिविधि नगर्न पत्रचार गरेको छ । सरकारले शैक्षिक सत्र ०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । जिल्लामा पाठ्यपुस्तक वितरण कार्यक्रम समेत प्रभावित भएको छ ।

Photo20042025Arghakhanchi2

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा शैक्षिक सत्र अगावै सामुदायिक तथा निजी विद्यालयका लागि पाठ्यपुस्तक आइपुगेका थिए । तर, लामो समयदेखिको शिक्षकहरूको आन्दोलनले सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गरेका छैनन् । समयमै हुनुपर्ने भर्ना अभियान त धेरै परको कुरा । शैक्षिक सत्र अगाबैबाट विद्यार्थी भर्ना अभियानलाई सरकारदेखि विद्यालय तहसम्म निकै प्राथमिकताका साथ हेर्ने गरिन्थ्यो । अहिले सवैतिर सुनसान छ । निजी विद्यालयहरूले भर्ना र कक्षा समेत सञ्चालन गरिसकेका छन् । तर, सामुदायिक बिद्यालयले नतिका समेत प्रकाशन नगरेकाले अभिभावक र विद्यार्थी निकै अन्यौलपूर्ण अवस्थामा रहेको सामाजिक अगुवा तथा व्यावसायी जनक पन्थले बताउनुभयो । उहाँले कक्षा कोठामा पढ्ने विद्यार्थी शिक्षक आन्दोलनका कारण सडकहरुमा भौँतारिनुपर्ने अवस्थामा रहेको गुनासो गर्नुभयो । जिल्लामा अहिलेसम्म करिव ९० हजार पाठ्यपुस्तक आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन अगावै पुस्तक व्यवसायीहरूको हातहातमा उपलब्ध गराइसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ गुल्मीका सचिव गोपाल बस्नेतले जानकारी दिनुभयो । पुस्तक व्यवसायीले माग गरेकै आधारमा समयमै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक पठाए पनि विद्यालयबाट सूची नआएकाले सबै ठाउँ पठाउन नसकिएको बस्नेतले बताउनु भयो ।

लामो सयम विद्यालय बन्द भएकाले अभिभावहरूलाई बालबालिकाको व्यावस्थापनसँगै पढाईको पिरलो थपिएको छ । सरकार र शिक्षकका आआफ्नै स्वार्थका कारण भविष्यका कर्णधार बालबालिकालाई प्रभावित पार्न नहुने मालिका गाउँपालिका–५ का अभिभावक केयरसिंह क्षेत्रीले बताउनु भयो । ‘बोर्डिङ्ग पठाउन रिजल्ट छैन । पुस्तकको पनि थातथलो अहिलेसम्म भएन । शिक्षक र सरकारका स्वार्थको कारण बालबालिका र अभिभावक मर्कामा परे’ – उहाँले भन्नुभयो । जिल्लामा सामुदायिक विद्यालयतर्फ प्राथमिक तह–२८८, निम्न माध्यमिक तह–५९ र माध्यमिक तहका १ सय २७ विद्यालय रहेका छन् । संस्थागत विद्यालयतर्फ प्राथमिक तह–२७, निम्न माध्यमिक तह–८ र माध्यमिक तहका १८ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । सरकारको विषयसँग शिक्षकहरू लडिरहेकाले जिल्ला तहमा केहि गर्न सक्ने अवस्था नरहेको जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले बताउनु भयो । उहाँले संस्थागत विद्यालयमा पठनपाठन सञ्चालन भइसकेको अवस्थामा सामुदायिक विद्यालका विद्यार्थीको नतिजा समेत प्रकाशन समेत नभएकाले निकै अन्यौलता रहेको बताउनु भयो ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण पाल्पामा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको हो । जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख ३ गतेबाटै पठनपाठन सुरु भइसकेको छ भने सामुदायिक विद्यालयहरू भने आन्दोलनका कारण बन्द अवस्थामा छ । सामुदायिक विद्यालयहरूमा अहिले धमाधम हुनुपर्ने भर्ना अभियान हुन सकेको छैन । जिल्लाका कतिपय सामुदायिक विद्यालयहरुले विज्ञप्ति जारी गरी पठन पाठन तथा भर्ना अभियान स्थगित गरिएको जनाएका छन् । सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।

तानसेन स्थित देववाणी साधारण तथा संस्कृत माविका प्राधानाध्याक कृष्णबहादुर थापाले आफ्नो विद्यालयका सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनुभयो । थापाले सबै शिक्षक आन्दोलनमा काठमाडौँ गएको उहाँले उल्लेख गर्नुभयो । सरकारले माग सम्बोधन नगरेसम्म शैक्षिक कार्यक्रम अगाडि नबढ्ने र जिल्लाका कुनै पनि सामुदायिक विद्यालय नखोल्ने उहाँले बताउनु भयो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताउनु भयो । पाल्पामा रहेका शिक्षक सम्बद्ध सङ्घसङ्गठनका प्रमुखहरूले हस्ताक्षर गरी प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई आह्वान गरेका छन् ।

इन्सेक नवलपरासी (सुस्ता पश्चिम) जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार शिक्षकहरूको शैक्षिक आन्दोलनका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । जिल्लाका सबै विद्यालयहरूले ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्ने भए पनि कुनै पनि विद्यालयले भर्ना कार्यक्रम सञ्चालन गरेका छैनन् । महासङ्घले आयोजना गरेको काठमाडौँ केन्द्रित अन्दोलनमा शिक्षक तथा कर्मचरीहरू सहभागि भएका र जिल्लामा पनि शैक्षिक हड्तालको घोषणा गरिएकै कारण भर्ना अभियान र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न सकेका छैनन् ।

Photo20042025Arghakhanchi6

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार रुपन्देहीका जिल्लाका १६ ओटा स्थानीय तहका ३ सय ५० ओटा सामुादायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा भएका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान र शैक्षिक सत्र ०८२ को कार्यक्रम प्रभावित भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकारले सुरुआत गरेको विद्यार्थी भर्ना अभियान कार्यक्रममा शिक्षकहरू आन्दोलनमा भएका कारण ०८२ वैशाख २ गतेदेखि प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको राजधानी केन्द्रीत आन्दोलनका कारण वैशाख २ गतेदेखि देशभर सुरुआत भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । शिक्षकहरू काठमाडौँको सडकमा आनदोलन गरिरहँदा विद्यार्थीहरू सडकमा खेलिरहेका छन् ।

शिक्षकहरूले यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित ०८१ चैत २० गतेदेखि शिक्षक, कर्मचारी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा गरिरहेका छन् । आन्दोलनमा काठमाडौँ पुगेर सहभागी नभएका शिक्षकहरू समेत विद्यार्थी भर्ना अभियान लगायत कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिइरहेका छन् । नेपाल शिक्षक महासङ्घले विद्यालय खोल्ने र विद्यार्थी भर्ना अभियानमा संलग्न हुने शिक्षक तथा विद्यालय माथि निगरानी राखेको बताएको छ । नेपाल शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपानेले शिक्षकका माग पूरा नहुँदासम्म कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताउनु भयो । आन्दोलनका लागि काठमाडौँ नपुगेका शिक्षकहरूले समेत महासङ्घको निर्णय अनुसार विद्यार्थी भर्ना अभियान बहिष्कार गरेका छन् । कतिपय विद्यालयले त सार्वजनिक सूचना नै जारी गरेर विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएका छन् । जिल्लामा रहेका पाँच ओटा नगरपालिका र १० ओटा गाउँपालिकाका र एउटा उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालय भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका सबै विद्यालयलाई परिपत्र गरेका छन् । स्थानीय तहले विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थितिमा भर्ना अभियान सुरु गर्न निर्देशन दिएका दिएपनि शिक्षक आन्दोलनका कारण विद्यालय भर्ना अभियान अभियान पूर्ण रूपमा प्रभावित भएको छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार कपिलवस्तुका जिल्लाका १० ओटा स्थानीय तहका ५ सय ३१ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । सबैजसो सामुादायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा भएका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान र शैक्षिक सत्र ०८२ को कार्यक्रम प्रभावित भएको इन्सेकले गरेको अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकारले ०६१ वैशाख २ गतेदेखि सुरुवात गरेको विद्यार्थी भर्ना अभियान कार्यक्रममा शिक्षकहरू आन्दोलनमा भएका कारण ०८२ वैशाख २ गतेदेखि प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको राजधानी केन्द्रित आन्दोलनका कारण वैशाख २ गतेदेखि देशभर सुरुआत भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । शिक्षकहरू काठमाडौँको सडकमा आनदोलन गरिरहँदा विद्यार्थीहरु सडकमा खेलिरहेका छन् । शिक्षक महासङ्घ कपिलवस्तुका अध्यक्ष गोविन्द पोखरेलले सरकारले शिक्षकहरूप्रति गरेको अन्यायका कारण शिक्षकहरू ८९ औँ दिनदेखि चरणबद्ध आन्दोलनमा र १९ दिनदेखि सडक आन्दोलनमा रहेको र माघ पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । देशैभरीका शिक्षकहरुले काठमाण्डौ केनिद्रत आन्दोलन गरेका कारण विद्यार्थी भर्ना अभियानसँगै एसइइको पेपर जाँच र कक्षा १२ को परीक्षा समेत प्रभावित हुने देखिन्छ । सरकारले यथाशिघ्र शिक्षक, अभिभावक, विद्यार्थीमैत्री शिक्षा ऐन नल्याउँदासम्म आन्दोलन जारी राख्ने अध्यक्ष पोखरेलले इन्सेकसँगको कुराकानीमा बताउनु भयो । अहिले कपिलवस्तुका सामुदायिक विद्यालयमा भर्ना ठप्प रहेको छ भने नीजि विद्यालयमा वैशाख ४ गतेदेखि नै विद्यालयहरू सञ्चालन भैसकेका छन् ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ । नयाँ कक्षाको प्रवेशले विद्यार्थीमा नयाँ उमङग, सन्तानको शैक्षिक वृद्धिले अभिभावक दङ्ग र विद्यार्थी भर्नाको चापले शिक्षकहरूलाई भ्यान नभ्याई हुनुपर्ने बेला हो हिजो आज । तर घोराही उपमहानगरपालिका वडा नं. १५ सरस्वती मावि कोठेकोहल भरतपुर परिसर सुनसान छ । वार्षिक परीक्षा दिएका विद्यार्थी ०८१ चैतको दोस्रो हप्तादेखि विद्यालय फर्किन सकेका छैनन् । न त उनीहरूको वार्षिक परीक्षा फल नै प्रकाशित भएको छ । नतिजा समेत स्थगित गरेर शिक्षकहरू काठमाडौँ केन्द्रीत आन्दोलनमा गएपछि दाङमा दुई लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । नयाँ शैक्षिक सत्रअनुसार अहिले विद्यार्थी भर्ना कार्यक्रमको समय हो । सरकारले वैशाख १ गतेदेखि नै भर्ना अभियानको सुरुवात गरिसकेको छ । तर सामुदायिक विद्यालय सुनसान छन् । भर्ना कार्यक्रम पूर्ण रूपमा ठप्प छ । शिक्षक महासङ्घले नै परीक्षाफल प्रकाशन, विद्यार्थी भर्नालगायतका कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने भन्दै आन्दोलनमा उत्रिएपछि शिक्षकहरू शैक्षिक गतिविधिमा सहभागी हुन सकेका छैनन् । संस्थागत विद्यालयमा भर्ना सकिएर पठनपाठन नै सुरु हुन लाग्दा सामुदायिक विद्यालयमा शिक्षक आन्दोलनले शैक्षिक क्यालेण्डर नै प्रभावित भएको विद्यालय व्यवस्थापन समितिहरूले जनाएका छन् ।

Photo20042025Dang1

दाङमा ३२ सामुदायिक सिकाई केन्द्र, १३ धार्मिक विद्यालयसहित ४ सय ५८ सामुदायिक विद्यालय रहेको शिक्षा समन्वय इकाई दाङले जनाएको छ । जसमा गत शैक्षिक सत्रमा २ लाख १ हजार विद्यार्थी अध्ययनरत थिए । ती मध्ये १४ हजार एसइइ दिएर बसेका छन् भने अरु सबै नयाँ कक्षा भर्नाको पर्खाइमा छन् । त्यसो त यस वर्ष विद्यालय प्रवेश गर्ने बालबालिका पनि थपिँदै छन् । करिव २ लाख बालबालिका शिक्षक आन्दोलनका कारण भर्ना हुनबाट वञ्चित भएको अभिभावक एवम् नेपाल बाल सङ्गठन दाङका अध्यक्ष विनोद केसीले बताउनु भयो । ‘शिक्षकका पेशागत माग ठिकै होलान, सरकारले जायज माग पूरा गर्नुपनि पर्छ । तर आफ्ना माग सम्वोधन खोज्दै गर्दा लाखौं बालवालिकाको भविष्य बारे शिक्षकहरुले सोच्नुपर्छ । कर्तब्य भुल्नुहुँदैन । आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ’ – बाल सङ्गठनका अध्यक्ष केसीले भन्नुभयो ।

परीक्षा फल रोक्ने र भर्ना पनि रोक्ने शिक्षकहरूको आन्दोलनले गरिबका छोरा छोरी महङ्गो रकम तिरेर संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने बाध्यतामा पुग्न थालेको अभिभावकहरू बताउँछन् । शिक्षक नै आन्दोलन गर्ने र पठनपाठन नहुने हो भने खाइ नखाइ पनि छोरा छोरी बोडिङ पठाउनुपर्ने बाध्यता आउन थालेको दङ्गीशरण गाउँपालिका–२ का अभिभावक सिताराम चौधरीले गुनासो गर्नुभयो । तसर्थ सरकारले शिक्षकहरूका जायज माग सम्वोधन गर्ने विश्वस्त वातावरण बनाउनुपर्ने र शिक्षकहरूले रिजल्ट निकाल्ने र भर्ना अभियान सुरु गर्नेगरी आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने अभिभावकको माग छ । तर आन्दोलनरत शिक्षक महासङ्घ दाङका अध्यक्ष युवराज बस्नेतले सहमति गरेका विषय कार्यान्वयन नगर्ने र पटक पटक आन्दोलन गर्नुपर्ने बाध्यतामा शिक्षकहरू पुगेको भन्दै माग सम्वोधन नहुँदासम्म शिक्षक विद्यालय फर्किन नसक्ने बताउनु भयो । उहाँले विद्यार्थीमा पर्न गएको समस्याप्रति दुख व्यक्त गर्दै पठन पाठनलाई विदाको समयलाई सदुपयोग गरेर भएपनि पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो । यता विद्यालय व्यवस्थापन समिति भने शिक्षक आन्दोलनसँगै विद्यार्थीको अधिकारको विषयमा पनि उत्तिकै गम्भीर हुनुपर्ने बेला आएको बताएका छन् । ‘शिक्षकहरूका माग सम्वोधन गर्नेतर्फ छिटो भन्दा छिटो सरकार गम्भीर होस र भर्ना हुने र पठनपाठन सूचारु गर्नेतर्फ शिक्षकहरू पनि उत्तिकै गम्भीर हुनुपर्छ । शिक्षकका पेशागत अधिकारप्रति सरकार र विद्यार्थी र अभिभावकको अधिकारप्रति शिक्षक जिम्मेवार बन्नुपर्छ’ – पद्मोदय मावि घोराही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले भन्नुभयो ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि ध्रुबराज शर्माका अनुसार शिक्षक महासङ्घको आयोजनामा सुरु गरिएको शिक्षकहरूको शैक्षिक आन्दोलनका कारण जिल्लामा वैशाख २ गतेदेखि हुने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । अन्दालेनले विद्यार्थीहर”को पठनपाठन अवरुद्ध भएकाले समयमा पाठ्यक्रम नसकिने नेपालगञ्ज उपमहानगरपालिकाको फुल्टेक्रा माध्यमिक विद्यालयका अभिभावक लक्ष्मी नरायण कुम्हार र रंगीलाल कोरीले बताउनु भयो । शिक्षक महासङ्घले विभिन्न माग राखी देशव्यापी नेपाल सरकारले सबै बालबालिकाको विद्यालयमा सहभागित, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारा सहित अन्दालेनको आयोजना गरेकोले बाँकेका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको छ । काठमाडौँ केन्द्रित अन्दोलनमा शिक्षक तथा कर्मचरीहरू सहभागि भएकी र जिल्लामा पनि शैक्षिक हड्तालको घोषणा गरिएकै कारण भर्ना अभियान, विद्यार्थीहरूको रिजल्ट तयार भए पनि रिजल्ट प्रकाशन र नियमित विद्यालय सञ्चालन गर्न नसकेको डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले जानकारी दिनुभयो ।

Photo20042025Arghakhanchi

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार शिक्षा ऐन जारी गर्न माग गर्दै भएको काठमाडौँ केन्द्रित आन्दोलनले सामुदायिक विद्यालयको विद्यार्थीको नतिजा प्रकाशन भर्ना अभियान र पठनपाठन प्रभावित भएको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक कर्मचारीहरू आन्दोलनमा हुँदा विद्यार्थीको नतिजा प्रकाशन भर्ना अभियान र पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीले महासङ्घको नेतृत्वमा ०८१ चैत २० गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँमा सडक आन्दोलन गरिरहेका छन् भने महासङ्घले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द भएको छ ।

बर्दियामा रहेका २ सय ७४ विद्यालयमा अध्ययन गर्ने १ लाख २० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । कोभिड –१९ का कारण धरासायी बनेको विद्यार्थी पठनपाठन पछिल्लो समयमा भएको शिक्षक आन्दोलनले समेत प्रभाव परिरहेको छ । संविधान निर्माण भएको एकदशक हुँदा समेत शिक्षा ऐन जारी नभएपछि शिक्षकहरू आन्दोलन गर्न बाध्य भएको शिक्षकहरूको भनाइ रहेको छ । एकप्रिय राठोर माध्यमिक विद्यालयका प्राधानाध्यापक विष्णु वलीले विद्यालयका शिक्षक/शिक्षिका आन्दोलनमा काठमाडौँ गएको हुँदा विद्यालयमा पठनपाठन नहुने बताउनु भयो । उहाँले शिक्षा ऐन जारी नहुँदासम्म विद्यालयले आन्दोलनमा ऐक्यवद्धता जनाएको जानकारी दिनुभयो ।

त्यसैगरी विद्या ज्योति माध्यमिक विद्यालयका कण्ठपुरका प्रधानाध्यापक भक्तिसागर रेग्मीले काठमाडौँ जान नसकेका शिक्षक/शिक्षिकाले बढैयाताल गाउँपालिकाको अगाडि धर्ना दिएर आन्दोलन गरिरहेको बताउनु भयो । उहाँले शिक्षकले उठाएका जायज माग शिक्षा ऐनमा समावेश गर्न गरिएको आन्दोलनको सुनुवाई नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो । बर्दियामा अहिले १–५ प्राथामिक विद्यालय १ सय २८, १–८ आधारभूत विद्यालय ५९, १–१० माध्यामिक विद्यालय ३६ र १–१२ माध्यामिक विद्यालय ५१ ओटा रहेको छ भने प्राथमिक विद्यालयमा ८ सय ६१ दरबन्दी, निम्नमाध्यामिक विद्यायलमा १ सय ८४ विद्यालय र माध्यामिक तहमा १ सय ५४ जनाको दरबन्दी रहेको छ ।

Photo20042025Dang

Photo20042025Arghakhanchi1  Photo20042025Arghakhanchi5

अन्य

भिडियो