INSEC Online

📅 २०८३ जेष्ठ २१

सिङ्गो बजारको फोहर बस्ती नजिकको जङ्गलमा फाल्दा स्थानीय वातावरणको हकबाट वञ्चित

सिङ्गो बजारको फोहर बस्ती नजिकको जङ्गलमा फाल्दा स्थानीय वातावरणको हकबाट वञ्चित भएका छन् । तानसेन नगरपालिका-५, सेतीपोखरीमा १२ वर्षअघि बनाइएको स्यानेटरी ल्याण्डफिल्ड साइट उपयोग विहीन भएको १२ वर्ष भइसक्यो । तानसेन नगरपालिकाको २५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको ७५ प्रतिशत गरी १ करोड ६१ लाख रुपियाँमा निर्माण सम्पन्न ल्याण्डफिल्ड साइट रित्तो छ भने सिङ्गो तानसेन बजारको फोहर स्थानीय शिवपोखरी जङ्गलमा यत्रतत्र रूपमा बिसर्जन गर्ने गरिएको छ । जथाभावी फालिएको फोहरबाट दुर्गन्ध फैलिएको छ भने स्थानीय स्वच्छ वातावरणको हकबाट वञ्चित भएका छन् ।

२०६९ असोजमा निर्माणसम्पन्न तानसेन शिवपोखरीमा अवस्थित ल्यान्डफिल्ड साइट ०७० असोजबाट नै प्रयोगमा आउन सकेको छैन । करिव एक वर्षसम्म सञ्चालित ल्यान्डफिल्ड साइटबाट बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले सो स्थानमा फोहर सङ्कलन गर्न रोक लगाएका थिए ।

सो स्थानमा फोहर व्यवस्थापन गर्ने निर्णय गरे पनि स्थानीयको अवरोधको कारणले करोडौँ खर्चिएर निर्माण गरिएको ल्यान्डफिल्ड विगत एक दशक देखि प्रयोगविहिन बनेको हो । तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा सङ्कलन फोहोर अहिले देउराली सामुदायिक बनको गुल्मी जाने सडक खण्डको साइडमा फालिन्छ । जसले गर्दा सो सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा वरपरका बस्तीहरूमा समेत दुर्गन्ध फैलिएको स्थानीय माधव पौडेलले बताउनु भयो ।

तानसेन नगरपालिले ३४ रोपनी जग्गा व्यस्थापन गरी ल्यान्डफिल्ड साइट निर्माणको काम सुरु गरेको थियो । नगरपालिकाले हरेक जोर गते कुहिने र बिजोर गते नकुहिने र हरेक महिनाको १ गते सिसाजन्य फोहोर सङ्कलन गर्ने गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो । उहाँले ल्याण्डफिल्ड साइटको उपयोग गर्नेबारे पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसक्दा जङ्गलमा फोहर फाल्नुपरेको बताउनु भयो ।

नगरपालिकाले बसपार्क साइडको १ सय रोपनी जग्गा मध्य १९ रोपनी जग्गा फोहोरमैला व्यवस्थापन केन्द्र अन्तर्गत कुहिने फोहोरमैलाबाट फोहोरमैला उर्जा व्यवस्थापन केन्द्र सञ्चालन गर्ने योजना भए तापनि बजेट अभावका कारण रोकिएको उहाँले बताउनु भयो । सेनेटरी ल्यान्डफिल्ड साइट प्रयोगमा आउन नस्कदा संरचना भत्कदै गएका छन् । १४ ओटा वडा रहेको तानसेन नगरपालिकामा दैनिक करिव १० टन फोहोर सङ्कलन हुँदै आएको छ ।

अन्य

भिडियो