जिल्लाको मोथेटार कुमालबस्तीका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।
षडानन्द नगरपालिका-६ अरूण नदी किनारमा रहेको कुमालबस्तीका ४७ घरपरिवार आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । कुमाल बस्तीमा शिक्षा, खानेपानी र स्वास्थ्यका लागि पूर्वाधार नहुँदा स्थानीय आधारभूत मानव अधिकारबाटै वञ्चित हुनु परेको छ ।
संविधानले धारा ३१ मा शिक्षा र धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हक भनि व्यवस्था गरेपनि मोथेटारको कुमाल बस्तीका स्थानीय शिक्षा र स्वास्थ्यसम्बन्धी हकबाट वञ्चित हुनु परेको छ ।
कुमाल बस्तीका कतिपय परिवारको आफ्नै जमिन पनि नभएकाले उनीहरूले कुटो कोदालो, माटाको भाँडा तथा अरूण नदीमा माछा मारेर जीवन गुजारा गर्दै आएका छन् । कुमाल बस्तीका स्थानीयलाई बिहान–बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ । गरिबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर छन् ।
कुमाल बस्तीमा गरिबी तथा भौगोलिक विकटताका कारण बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको अरूण माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण बोगटीले बताउनुु भयो । केही बालबालिकाले प्राथामिक शिक्षा लिए पनि आधारभूत तथा माध्यमिक शिक्षा लिन छिमेकी जिल्ला सङ्खुवासभाको तुम्लिङटार जानुपर्ने बाध्यता छ । आधारभूत र माध्यमिक शिक्षाका लागि जिल्ला छोडेर सङ्खुवासभा जान पनि अरूण नदीमा पुल नहुँदा थप समस्या हुने गरेको शिक्षक बोगटीले बताउनु भयो ।
साना बालबालिकालाई कक्षा तीन पछिको शिक्षा लिन तीन घण्टा बढी समय लगाएर अरूण मावि तथा संखुवासभा जिल्ला जानुपर्ने बाध्यता रहेकाले कुमाल बस्तीका बालबालिकाले विद्यालय छाड्ने गरेका छन् । कक्षा तीन पास गरेकालाई अन्य विद्यालय जान समस्या छ । सात/आठ वर्षका बालबालिकालाई तीन/चार घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यताले विद्यालय छोड्ने दर बढेको देखिन्छ ।” कुमाल बस्तीका कृष्णबहादुर कुमालले भन्नुभयो ।
परिवारका अभिभावक नै अशिक्षित भएका कारण पनि उनीहरूले आफ्ना छोराछोरीलाई समेत विद्यालय पठाउन नमान्ने गरेको कृष्णबहादुर कुमालले बताउनु भयो । अभिभावकले बालबालिका अलिक ठूला भएपछि आफैँले गर्ने काममा लगाउने गरेका छन् । ४७ घर कुमाल बस्तीमा करिब ६५ जनाको हाराहारीमा विद्यालय समूहका बालबालिका रहेपनि ८/९ जना भन्दा बढी बालबालिका शिक्षाको पहँुचभन्दा बाहिर छन् ।
कृष्णबहादुर कुमालले कक्षा तीन पास गरेपछि विद्यालय छाड्ने बालबालिकाको बढी भएको बताउनु भयो । “यो ठाउँमा स्वास्थ्य शिक्षाका साथै अन्य पूर्वाधारको पनि पनि समस्या छ”, कृष्णबहादुरले भन्नुभयो, “बस्तीमा स्वास्थ्य चौकी छैन । आधारभूत स्वास्थ्य सेवा लिन दिङ्ला तथा संखुवासभा जानुपर्ने बाध्यता छ, बालबालिकालाई विद्यालय जान त्यस्तै समस्या छ । खानेपानीको समस्या पनि उस्तै छ ।
स्वास्थ्य शिक्षासँगै कुमाल बस्तीमा खानेपानीको समस्या पनि उत्तिकै छ । ०७२ सालको भूकम्पपछि कुमाल बस्तीमा रहेको मुहान सुक्दै गएपछि कुमाल बस्तीका खानेपानीको अभाव चर्कोसँग भोग्नु परेको छ ।
खानेपनीको व्यवस्था तथा कुमाल समुदायमा शिक्षाको चेतना फैलाउन र स्वास्थ्य चौकी निर्माणका लागि पहल भइरहेको षडानन्द नगरपालिका-६ का वडाध्यक्ष सुमन विशंकुले बताउनु भयो । खास गरेर स्थानीयवासीमा रहेको अशिक्षाका कारण पनि बालबालिका शिक्षाबाट वञ्चित हुने गरेको वडाध्यक्ष विशुंकेले बताउनु भयो । कतिपय यहाँका बासिन्दाले नागरिकतासमेत बनाउन नचाहेको वडाध्यक्षको भनाइ छ । नागरिकता बनाउन वडाले पहल गर्दासमेत नागरिकताको काम नै छैन भन्दै बनाउन नआएकाले आफ्नै पहलमा सात जनाको नागरिकता बनाइ दिएको वडाध्यक्ष विशुंकेको भनाइ छ ।