१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका-२, बिरपुरका ३५ वर्षीय तेज बहादुर पाेख्रेल र साेही ठाउँका ३१ वर्षीय माधव राेकाहालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ चैत १३ गतेको इजलासले बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजाय र ५ लाख रुपियाँ जरिबानाको फैसला भएको छ । सो जरिबाना रकम पीडितलाई क्षतिपूर्ति भराउने र २० हजार रुपियाँ पीडित राहत काेषमा जम्मा गराउने फैसला गरेको जिल्ला अदालतका नायब सुब्बा अशोक भण्डारीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितहरूलाई प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते प्राथमिक स्वास्थ्य केन्द्र, ठाडामा भएको थियो ।