INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको बेलस्वारा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुर पाटा मगरले बताउनु भयो ।

बर्खामा पानी हुने भए पनि हिउँद लागेपछि पानीका मुहान सुक्दा समस्या जटिल बन्ने गरेको स्थानीय कुलबहादुर पाटा मगरले बताउनु भयो । पानी पर्याप्त नआउँदा अड्कलेर खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । हिउँदमा गाउँमा वितरणका लागि ल्याएको पानीको मुहान सुक्ने हुँदा खानेपानीको समस्या हुने गरेको उहाँको भनाई छ ।

चैत लागेसँगै पानी कम हुँदै गएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुरले बताउनु भयो । वर्षाको समयमा पानी हुने भए पनि हिउँदमा पानीका मुहान सुक्दै जाँदा सबैले आवश्यकता अनुसार पानी उपभोग गर्न समेत अप्ठ्यारो हुने गरेको उहाँको भनाई छ ।

खानेपानीको समस्या झेल्दै आएका बेलस्वारा सहित कोलडाँडा, जलुकेका करिब ६५ घरपरिवारका लागि खानेपानीको थप व्यवस्थापनका लागि अध्ययन भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इकाई कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनु भयो । नयाँ मुहानको खोजी गर्ने र अहिले सञ्चालनमा रहेको खानेपानी योजनालाई सुधार गरी उक्त स्थानमा खानेपानीको समस्या समाधानमा पहल भइरहेको उहाँको भनाई रहेको छ । हाल सञ्चालनमा रहेको खानेपानीको पाइपलाइन तत्काल सुधार गर्ने र गाउँ नजिक रहेको अर्को मुहानमा पानीको अवस्थाको अध्ययन गरी स्थानीयलाई खानेपानी पु¥याउने गरी योजना अघि बढाउने तयारीमा आफूहरू रहेको कार्यालय प्रमुख आचार्यले बताउनु भयो ।

अन्य

भिडियो