रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीका स्थानीय बासिन्दालाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सुनकोसी नदीको सो झोलुङ्गे पुल गत असोज महिनामा आएको बाढीले क्षति भएको थियो ।
बाढीले पुलका स्ल्याप बगाएर लगेपछि सो झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रुपमा सञ्चालन गरिएको थियो । तत्कालको लागि अस्थायी रुपमा बाँस हालेर पुल सञ्चालनमा ल्याएको वडाध्यक्ष रामकुमार श्रेष्ठ बताउनुहुन्छ ।

पुलका राखिएका बाँसहरू सरेर अहिले पुलको ठाउँ ठाउँमा खाली भएको छ । जसले गर्दा मानिसहरूका घुट्टा पसेर पुलबाटै झर्ने जोखिमपूर्ण अवस्था रहेको स्थानीय गणेशबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
पुल धराप थापे जस्तो भएको उहाँले बताउनुभयो । सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् ।
विद्यार्थीहर दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने स्थानीय राजकुमार मैनाली बतानुहुन्छ ।
विद्यार्थी मात्र होइन स्थानीयको खेत, बजार, स्वास्थ्य संस्था पनि सिन्धुलीपट्टी भएकोले दैनिक खेतीको काम, किनमेल तथा औषधी उपचारको लागि पनि यो पुल नतरि हुँदैन । तर पुलको अवस्था भने निक्कै जेखिमपूर्ण छ ।