जिल्ला कारागार खाँदबारीका दुई जना कैदीमा क्षयरोग (टिवी) को सङ्क्रमण पुष्टि भएको छ ।
कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कारागारका दुई जना कैदीमा क्षयरोग रोगको सङ्क्रमण पुष्टि भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले बताउनु भयो । कैदीमा क्षयरोगको पुष्टि भएपटि रोगको सङ्क्रमण फैलन नदिन सुरक्षा सर्तकता अपनाइएको अहेव राउतले बताउनु भयो ।
कारागारमा रहेका अन्य कैदीबन्दीलाई सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा ०८१ फागुन ८ गते ८१ जना कैदीबन्दीको स्वास्थ्य गरिएको अहेव राउतले बताउनु भयो ।
दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग सङ्क्रमणको लक्षण देखा पर्ने थालेपछि एउटा ब्लक भित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताउनु भयो ।
जिल्ला कारागारका दुई जना कैदीमा क्षयरोग सङ्क्रमण पुष्टि भएपछि नियमित औषधि सेवनका लागि दिन थालिएको अहेव राउतको भनाइ छ ।
जिल्ला कारागार खाँदबारीमा ५५ जनाको क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ ।
जिल्ला कारागारमा १ सय ३१ जना पुरूष, नौ जना महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले बताउनु भएको छ ।