नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ तथा मानव अधिकारको अवस्थाको बारेमा सरोकारवाला पक्षसँग फागुन ७ गते इन्सेक लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा नेपालगञ्जमा छलफल गरिएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२४ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित भएको जानकारी दिनुभयो । गत वर्ष सन् २०२३ मा २ हजार ८३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ६ जना महिला र २५ पुरुष गरी जम्मा ३१ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट २ हजार १ सय ६२ जना महिला र ७८ जना पुरुष सहित जम्मा २ हजार २ सय ४० जना पीडित भएको अभिलेख भएको उहाँको भनाइ छ ।

यस वर्ष राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका एक जना पुरुषको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भयो भने दुई जना पुरुषको हिरासतमा मृत्यु भयो । साथै कुटपिटका घटनामा दुई जना, बालिका बलात्कारमा दुई जना, अमानवीय व्यवहारमा दुई, घाइते घतनामा २२ जना गरी ३१ जना पीडित भएको संयोजक महतले जानकारी दिनुभयो ।
यस वर्ष अन्यपक्षबाट २ हजार २ सय ४० जना पीडित भएको इन्सेकले अभिलेख ग¥यो । जसमा अपहरण घटनामा सात जना, बाल अधिकारमा ३ सय ३१ जना, अमानवीय व्यवहार घटनामा ३२ जना, कुटपिट घटनामा १५ जना, महिला अधिकारमा १ हजार ७ सय ९१ जना, जातीय विभेद घटनामा दुई जना, घाइते घटनामा १० जना, धम्की घटनामा १२ जना, हत्या घटनामा ३८ जना र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार (सम्पत्तिको अधिकारबाट वञ्चित) बाट दुई जना पीडित भएको इन्सेकले अभिलेख गरेको संयोजक महतले बताउनु भयो ।
महिला अधिकार उल्ङ्घनका घटनामा सन् २०२४ मा लुम्बिनी प्रदेशमा १ हजार ७ सय ९१ जना पीडित भएको अभिलेख भयो । यस वर्ष महिला बेचबिखनका घटनामा १८ जना, महिला बेचबिखन प्रयासका घटनामा चार जना, घरेलु हिंसाका घटनामा १ हजार ५ सय ८४ जना, दाइजो जनित हिंसा घटनामा दुई जना, कथित बोक्सीको आरोपमा तीन जना, परिवारजनबाट हत्या घटनामा १३ जना, साइबर अपराध घटनामा एक जना, बलात्कार घटनामा १ सय २९ जना, सामूहिक बलात्कार घटनामा ११ जना, हाडनाता करणीमा तीन जना, वैवाहिक बलात्कार घटनामा एक जना, बलात्कार प्रयास घटनामा १५ जना र यौन दुर्व्यवहार घटनामा सात जना गरी जम्मा १ हजार ७ सय ९१ जना पीडित भएको अभिलेख भएको उहाँको भनाइ छ ।
यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३३ जना पीडित भए । जसमध्ये बाल विवाह घटनामा १४ जना, बालबालिका बेचविखन घटनामा १२ जना, विद्यालयमा दिइने शारीरिक सजाय घटनामा चार जना, बलात्कार घटनामा राज्य पक्षाबाट दुई जना र अन्य पक्षबाट १ सय ९५ जना गरी १ सय ९७ जना, सामूहिक बलात्कार घटनामा २० जना, हाडनाता करणी घटनामा १० जना र यौन दुर्व्यवहार घटनामा ७६ जना पीडित भएको अभिलेख भएको उहाँले बताउनु भयो ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल भएको नपाइएको संयोजक महतले बताउनु भयो । क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएका छन् । साथै, सशस्त्र द्वन्द्वको समाप्ति भएको लामो समय बितिसक्दासमेत सङ्क्रमणकालीन न्यायका सवाल जस्ताका तस्तै छन् । त्यससम्बन्धमा खासै प्रगति हुन सकेको छैन । लुम्बिनी प्रदेशमा सबै निकायबाट पटक पटक पहल गर्दा पनि पाँचौँ राष्ट्रिय कार्ययोजना सफल हुन नसकेको संयोजक महतले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इन्सेकले प्रकाशन गरेको मानव अधिकारी वर्ष पुस्तकमा राज्य पक्ष भन्दा बढी गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको हुँदा गैरराज्य पक्षबाट हुने घटना कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संविधान र कानुनले दिएको अधिकारलाई कार्यान्वयन गर्दै मानव अधिकार रक्षा गरेर मानव अधिकारको पक्षमा काम गर्न जरुरी रहेको बताउनु भयो ।

इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको पक्षमा काम गर्ने र मानव अधिकारकर्मीका लागि प्रेरक पुस्तक भएको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बताउनु भयो । उहाँले समाजमा अझै पनि आफू विरुद्ध हुने घटनामा खुलेर पीडितले आफ्नो कुरा राख्न वातावरण तयार नभएको हुँदा समाज भइरहेको घटना बाहिर आउन नसकेको धारण व्यक्त गर्नुभयो । उहाँले समाज भइरहेका घटनाहरू कम गर्न लागि सरोकारवाला पक्षमा बीच छलफल चलाउने र मानव अधिकारको उल्लङ्घन र ज्यादती घटना न्यूनीकरण गर्ने गरी काम गर्न जरुरी रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले प्रहरी काम गर्दै जाँदा कहिलेकाँही केही समस्या पर्दा मानव अधिकार उल्लङ्घन भएको हुन सक्ने बताउनु भयो । उहाँले प्रहरीले शान्ति सुरक्षा कायम गर्दा वा अन्य काम गर्दा मानव अधिकारको हनन हुन नदिन प्रहरी सचेत रहेको बताउनु भयो । उहाँले बालसुधार गृहमा सानो हुँदा बालसुधार गृहमा राख्नुलाई समस्या भएको समेत कार्यक्रममा बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयकी प्रमुख द्वारिका अधिकारी ले इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको क्षेत्र फराकिलो हुँदै गएको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२५ समेत सार्वजनिक गरिएको थियो ।
