INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा एक वर्षको अवधिमा १ हजार ६ सय बढी पीडित, राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु

सन् २०२४ मा कोशी प्रदेशमा राज्य पक्षबाट र अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ६ सय ९४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालयले फागुन ७ गते विराटनगरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ तथ्याङ्क सार्वजनिकीकरण तथा पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशमा सन् २०२४ मा राज्यको नियन्त्रणमा रहेका ६ जनाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरिएको छ । हिरासतमा एक जना र कारागारमा पाँच जना गरी ६ जनाले यस वर्ष ज्यान गुमाएको इन्सेकले जनाएको छ ।

राज्यको सुरक्षामा रहेकाहरूको शंङ्कास्पद मृत्युले जीवनको अधिकारमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको इन्सेकले जनाएको छ । ०८० पुस १६ गतेदेखि ०८१ पुस १६ गतेसम्म अर्थात् सन् २०२४ मा कोशी प्रदेशमा राज्य पक्षबाट ४१ जना पीडित भएका छन् ।

कोशी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा सातओटै प्रदेशहरूमा शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा अवस्था सार्वजनिक गरिएको छ । कोशी प्रदेश भन्दा बागमती, मधेश, लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।

कर्णाली र गण्डकीको भन्दा सुदुर पश्चिमको मानव अधिकारको अवस्था राम्रो देखिएको कार्यक्रममा जानकारी दिइएको छ । सात प्रदेशमा सबैभन्दा राम्रो अवस्था सुदुर पश्चिमको र सबैभन्दा खराब अवस्था बागमती प्रदेशको भएको इन्सेकले जनाएको छ ।

५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा कोशी प्रदेशमा सन् २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।

सन् २०२३ मा राज्य पक्षबाट र अन्य पक्षबाट १ हजार ४ सय २५ जना पीडित भएकोमा यस वर्ष १ हजार ६ सय ९४ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । गएको वर्ष भन्दा यस वर्ष २ सय ६९ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित तथ्याङ्क सार्वजनिक गरिएको छ । गएको वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट मानव अधिकारको अवस्थामा केही सुधार आएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ मा राज्य पक्षबाट १ सय १६ जना पीडित भएकोमा यस वर्ष ४१ जना पीडित भएका छन् । यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् । यस वर्ष भेला हुन पाउने अधिकारबाट चार जना वञ्चित भएका छन् ।

सन् २०२३ को तुलनामा यस वर्ष कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनामा ९ सय २६ जना र बाल अधिकारका घटनामा ३ सय ३६ जना पीडित भएकामा सन् २०२४ मा महिला अधिकारका घटनामा १ हजार १ सय ४० जना र बाल अधिकारका घटनामा ३ सय ५२ जना पीडित भएका छन् ।

यस वर्ष कोशी प्रदेशमा बलात्कारका घटनामा १ सय ७६ जना, बलात्कारपछि हत्याका घटनामा दुई जना, बलात्कार प्रयासका घटनामा २० जना, कथित बोक्सी आरोप घटनामा दुई जना, दाइजोजनित हिंसाका घटनामा दुई जना, सामूहिक बलात्कार घटनामा एक जना, बैवाहिक बलात्कारका घटनामा तीन जना, वेचविखनका घटनामा दुई जना, यौनजन्य साइवर क्राइमको घटनामा एक जना, घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारजनबाट हत्याका घटनामा ३४ जना महिला गरी १ हजार १ सय ४० जना महिला पीडित भएका छन् ।

ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेह्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको परिवारजनबाट हत्या भएको छ ।

सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट भएका बाल अधिकारविरूद्धका घटनामा ३ सय ५२ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा २ सय २५ जना, सामूहिक बलात्कारका घटनामा तीन जना, यौन दुर्व्यवहारका घटनामा ९४ जना, बाल विवाहका घटनामा तीन जना, वेचविखनका घटनामा पाँच जना, शिक्षण संस्थामा दिइएको शारिरीक सजायका घटनामा चार जना, नवजात शिशु हत्यामा ६ जना पीडित भएका छन् ।

सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मोसो दलेका घटनामा तीन जना, कुटपिटबाट घाइते घटनामा ६ जना, गोली प्रहारबाट घाइते घटनामा दुई जना, बम विष्फोटबाट घाइते घटनामा दुई जना, धारिलो हतियार प्रहारबाट घाइते घटनामा १७ जना र झडपमा ३३ जना घाइते भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

यस वर्ष अन्य पक्षबाट ३१ जनाको कुटपिट गरी हत्या, बम विष्फोटमा दुई जनाको मृत्यु, सेवन गर्न दिइएको विषबाट दुई जनाको मत्यु, धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको छ । धम्कीका घटनामा ६ जना र जातीय विभेदका घटनामा सात जना पीडित भएको इन्सेकले सन् २०२४ मा अभिलेखीकरण गरेको छ ।

कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएकाले कैदीबन्दीले आधारभूत मानव अधिकार प्रत्याभूति गर्न नपाएको इन्सेकले जनाएको छ । ५० जनाको क्षमताको भएको बालसुधार गृह विराटनगरमा २ सय ४४ जना बालकलाई राखिएकोप्रति इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई वर्ष पुस्तकमार्फत उठान गरेको पत्रकार भेटघाट कार्यक्रममा इन्सेकले जनाएको छ ।

संविधानले प्रदान गरेको स्वच्छ वातावरणको हकसहित विश्वव्यापी रूपमा गम्भीर सङ्कटका रूपमा देखा परेको जलवायु परिर्वतनको असर र यसले मानव अधिकारमा पर्ने प्रभावलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ ले उजागर पत्रकार भेटघाट कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले बताउनु भयो । यस वर्ष वायु प्रदुषण, पानीेको मुहान सुक्नु, बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार ५ सय ३२ जनाले बसाइँसराइ गर्नु परेको संयोजक पोखरेलले बताउनु भयो । उहाँले  हिंसाका घटनाबाट महिला र बालबालिका धेरै पीडित हुने गरेको तथ्याङ्कबाट देखिएको बताउनु भयो ।

कोशी प्रदेशका कारागारहरू महिलामैत्री र मानव अधिकारमैत्री हुन नसकेका कारण कैदीबन्दीको  आधारभूत मानव अधिकार राज्यले सम्बोधन गर्न नसकेको संयोजक पोखरेलले बताउनु भयो । कोशी प्रदेशमा कारागारको अवस्था जीर्ण, दयनीय रहेको  र क्षमताभन्दा तेब्बर सङ्ख्यामा कैदीबन्दी राखिएका विषयमा इन्सेकले अनुगमन गरी सरकारलाई सुधारका लागि दवाव सिर्जना गर्दै आएको संयोजक पोखरेलले बताउनु भयो ।

कोशी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय, विराटनगरका निर्देशक वीरबहादुर बुढामगरले मानव अधिकार हननका घटनासँगै वातावरणीय पक्षलाई पनि इन्सेकले उठान गर्नु प्रशंसनीय कार्य भएको बताउनु भयो । उहाँले वातावरण विनाश र जलवायु परिवर्तनबाट जोखिममा परेका र  सीमान्तकृत समुदाय बढी प्रभावित हुने गरेको बताउनु भयो ।  उहाँले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले पछिल्ला वर्षहरूमा नेपालमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारहुँदै गएको भएपनि महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै जानु चिन्ताको विषय भएको बताउनु भयो । बुढाले मानवअधिकार हननका घटनामा पीडित भएकाहरूको न्यायका लागि सबै अधिकारकर्मी संघसंस्थाहरूले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द्र मेहेताले कोशी प्रदेशमा पत्रकारलगायत मानव अधिकार रक्षकहरूसमेत पीडित बन्नु परेको अवस्थाबारे सरकार र मानवअधिकार आयोगको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो ।

सिविन नेपालका कोशी प्रदेश प्रमुख, बासु अधिकारीले कोशी प्रदेशमा यौन हिंसा र दुर्व्यवहार घटनाबाट बालिकाहरू पीडित भइरहेको देखिएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रीत हुनु आवश्यक रहेको धारणा राख्नु भयो । यौन दुर्व्यवहारका घटनाबाट बालिका मात्रै नभई बालकसमेत पीडित हुने गरेको अधिकारीले बताउनु भयो ।

अधिकारकर्मी मञ्जीता उपाध्यायले मानवअधिकार रक्षकमाथि हुने हिंसाका विषयमा मानवअधिकार आयोगको  ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा अधिकारकर्मी त्रिलोक न्यौपानेले इन्सेकले वर्ष पुस्तक मात्रै नभई मानवअधिकार हननका घटनाको विगत र वर्तमानबारे तुलना गरेर छुट्टै पुस्तक पनि प्रकाशन गर्न सुझाव दिनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि कोशी प्रदेशबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणमा उत्कृष्ट कार्य सम्पादन गरेकाे बापत उदयपुर प्रतिनिधि राकेश नेपालीलाई काठमाण्डौँमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ विमोचन कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा पत्रकार, अधिकारकर्मी, राजनीतिज्ञ,विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।

photo 20250219 1 morang (2)

photo 20250219 1 morang (3)

photo 20250219 1 morang (4)

photo 20250219 1 morang (1)

photo 20250219 morang (2)

photo 20250219 morang (3)

photo 20250219 morang (1)

photo 20250219 morang 3

अन्य

भिडियो