सुर्नया गाउँपालिका–३ स्थित बासुलिङ्ग स्वास्थ्यचौकीको सेवा पानी अभावका कारण प्रभावित भएको छ । चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहने स्वास्थ्यचौकीमा पानीको अभावले सेवा प्रभावित बेनेको स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताउनु भयो । पानीको अभावमा प्रसूती सेवालगायत अन्य स्वास्थ्य सेवाहरु प्रदान गर्न असहज भइरहेको उहाँले बताउनु भयो ।
बासुलिङ्ग स्वास्थ्यचौकीमा नजिकैको मूहानबाट पानी ल्याइएको थियो । तर, उक्त पानी तान्ने मोटर बिग्रिएपछि एक वर्षयता पानीको समस्या रहेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताउनु भयो ।
उहाँले भन्नुभयो–’७० / ८० हजार लगानी गर्न सके स्वास्थ्यचौकीमा नियमित पानीको व्यवस्थापन हुन सक्थ्यो । स्वास्थ्यचौकीसँग आफ्नो आम्दानी केही छैन् । अन्यत्रबाट कसैले चासो दिएका छैनन् ।’
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेहरुको सरसफाइका लागि पानी आवश्यक रहेको भए पनि बोकेरै पानीको जोहो गर्नु पर्ने बाध्यता रहेको स्वास्थ्यचौकीकी अनमी दिपिका बोहराले बताउनु भयो । दिउँसोको समयमा पानी बोकेर जोहो गर्ने गरिएको भए पनि रातिको समयमा समस्या हुने गरेको उहाँले बताउनु भयो ।

स्वास्थ्यचौकीमा पानीको व्यवस्थापन नहुँदा सेवाग्राहीलाई मात्रै नभएर क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीहरुलाई समेत समस्या भइरहेको छ । बासुलिङ्ग स्वास्थ्यचौकीमा एक वर्षमा ४० जना महिलाहरुले सुरक्षित प्रसूती सेवा लिएका छन् । पानीको अभावमा सुरक्षित प्रसूती सेवा प्रदानमा निकै असहजता भएको अनमी बोहराको भनाइ छ ।
बासुलिङ्ग स्वास्थ्यचौकीमा सुर्नया गाउँपालिका वडा नम्बर २ र ३ का सेवाग्राही बढीजसो आउने गरेका छन् । तर, सडक नजिकैको स्वास्थ्यचौकी भएकाले अन्यत्रका बिरामीहरु समेत आउने गरेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बतानउनु भयो ।
सवालरी चालक नहुँदा एम्बुलेन्स पनि थन्कियो !
बासुलिङ्ग स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा पनि सवारी चालक नहुँदा सञ्चालनमा आउन सकेको छैन् । चालकको अभावमा स्वास्थ्यचौकीको प्राङ्गणमा एम्बुलेन्स थन्किएको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताउनु भयो ।
गएको चार महिनायता चालक नहुँदा एम्बुुलेन्स थन्किएको छ भने सेवाग्राहीलाई समस्या भएको छ । सुर्नया गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई अयन्त्र रेफर गर्नुपरेमा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने नीति लिएको छ । तर, स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको अभावमा थन्किएको छ ।
जटील खालका गर्भवती तथा सुत्केरीहरुलाई एम्बुलेन्स सेवा दिन समस्या भइरहेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताउनु भयो ।
यसैगरी सुर्नया गाउँपालिका–२ स्थित बासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स राखिएको भए पनि सवालरी चालकको अभावमा थन्किएको छ । सुर्नया गाउँपालिकासँग भएका तीन ओटा एम्बुलेन्समध्ये एउटा मात्रै सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनु भयो ।