अरूण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाका महिला सदस्य र वडा महिला सदस्यसँग भत्ता विवादका कारण माघ २ गतेदेखि सम्पर्कविहीन भएपछि सेवाग्राहीलाई सरकारी सेवा लिन समस्या भएको छ ।
भत्ता विवादका कारण प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सामाजिक सुरक्षा भत्ता वितरण, राजश्व, दैनिक प्रशासन, योजना सम्झौता, भुक्तानीजस्ता कार्य प्रभावित भएको छ ।
कार्यपालिका महिला सदस्य र वडा महिला सदस्यसँग भत्ताको विषयमा ०८१ माघ २ गते विवाद भएपछि प्रमुख प्रशासकीय अधिकृत अग्नी पराजुली सम्पर्कविहीन भएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत एक महिनायता कार्यालयमा नआउँदा कार्यालयमा हुने कामकाज, सामाजिक सुरक्षाभत्ता वितरण, साना तथा ठूला योजनाको काम अगाडि बढाउन नसकेको उपाध्यक्ष ढकालले बताउनु भयो ।
“प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सम्झौता भएका योजनाहरुको पनि काम अघि बढ्न सकेको छैन्,” उपाध्यक्ष ढकालले भन्नुभयो । “उहाँ सम्पर्कविहीन हुँदा सेवाग्राहीले समस्या झेल्नु परेको छ।”
स्थानीय नागरिकहरु कामका लागि गाउँपालिका आउँदा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण मारमा परेको गाउँपालिकाका कर्मचारी देवीप्रसाद तिवारीले बताउनु भयो । कार्यान्वयनका चरणमा रहेका योजनाहरु समेत सञ्चालनमा समस्या भएको कर्मचारी तिवारीको भनाइ छ ।
प्रमुख प्रशासकिय अधिकृत नहुँदा सम्झौता भएका योजनाहरुको पनि काम अघि बढ्न सकेको छैन् । काम अगाडि बढाउन आवश्यक सामग्री पहिलो पेश्की वापतको रकम निकासा गर्न नपाउँदा सम्झौता भएको योजनाहरुको पनि काम अघि बढ्न नसकेको स्थानीय नारायण घिमिरेले बताउनु भयो ।
भत्ता विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नहुँदा सरकारी सेवा लिने सर्वसाधारण भने मर्कामा परेका छन् ।