INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने घटनाका आरोपित गिरफ्तार

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-११ अस्थायी ठेगाना भएका ५२ वर्षीय प्रदीप मादेनलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ०८१ माघ १२ गते मोवाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो ।

आरोपितले मोवाइल फोनमार्फत ज्यान मार्ने धम्की दिनुका साथै अपशब्द बोलेको प्रमुख जिल्ला अधिकारी शर्माले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

फुङलिङ नगरपालिका-११ मा ‘नो केबलकार समूह’ को आन्दोलनको नेतृत्व गरेका मादेनलाई अनुसन्धानका लागि माघ १५ गते विहान गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने आरोपितलाई फुङलिङ नगरपालिका-३ कोप्चेबजारबाट गिरफ्तार गरेको डिएसपी रवि रावलले बताउनु भयो ।

पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक रहनु भएकाका मादेनमाथि ०८१ माघ ११ गते प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोप छ ।

केवलकार निर्माणको विरोध गर्दै आएको नो केवलकार समूहले माघ १५ गतेदेखि जिल्लामा चक्काजाम गरेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने घटनाका आरोपित
प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने घटनाका आरोपित । फोटो- इन्सेक ताप्लेजुङ

अन्य

भिडियो