धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्ष पहिलेदेखि धौलागिरी अस्पतालमै मनोरोगको उपचार हुँदै आएको थियो । तर, चार महिना यता यो सेवा ठप्प बनेको छ ।
दैनिकजसो अस्पतालमा आउने मनोसामाजिक समस्याबाट पीडित चिकित्सक नभएको जानकारी पाएपछि फर्कन्छन् । मनोरोग विभागमा एक वर्षअघि मनोचिकित्सक डा. मानकाजी थापा आउनु भएको भएपनि गत भदौमा सङ्घीय सरकार अन्तर्गत सिफारिसमा परेर अन्यत्र गएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली रहेको छ ।
अस्पतालले विशिष्टकृत सेवाका रुपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै रहनुभएको धौलागिरि अस्पतालमा मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनु भयो ।
अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताको रुपमा भने आशा थापा कार्यरत रहेको बताउनुभयो । चिकित्सक नहुँदा औषधि दिनु पर्ने मनोरोगी, एन्जाइटी लगायतका बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता सृजना भएको छ ।
गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुर्व्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई सही ढङ्गले रेखदेख नगर्दा, मानसिक तनाव, महत्वाकांक्षी तथा मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका मनोपरामर्शदाता आशा थापा बताउनु हुन्छ ।
मनोरोगको परिणाम आत्महत्यासम्म पुग्ने गरेको थापाको भनाइ छ । अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको मेडिकल रेकर्डर शर्माको भनाइ छ । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय गरिरहेको बताउनु भयो ।
बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बागलुङमा मनोरोगका काराण अत्महत्याको दर ह्वातै बढेको बताउनु भयो । “मनोरोगका कारण आत्महत्यासम्म पुग्ने देखियो । अहिले आत्महत्याको सङ्ख्या भन्दा निरुपणमा जान आवश्यक छ । स्थानीय तहमा मनोपरामर्श कक्षा चलाउन आवश्यक छ ।”
पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ४२ जनाले आत्महत्या गरेको पाइएको छ । धनी र गरिबीबिचको बढ्दो खाडल, विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारण एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्न थालेको खनालको भनाइ छ ।
पछिल्लो समय मानसिक तनाव, प्रविधिको पहुँच र बढ्दो विश्वव्यापीकरणका आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । बागलुङमा एक वर्षमै ६० जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । यो तथ्याङ्क हालसम्मकै उच्च रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङमा अन्य घटनाको तुलनामा आत्महत्याका घटना सबैभन्दा बढी हुन थालेको छ । जिल्लामा प्रहरी, स्थानीय तहले समेत आत्महत्या रोक्नका लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आएपनि आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।
उहाँले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आत्महत्या मध्ये झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या धेरै रहेको छ । झुण्डिएर, विषय सेवन, हाम फालेर आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३७ जनाले आत्महत्या गरेका थिए जसमध्ये झुण्डिएर ३४ जना, हाम फालेर दुई जना र विष सेवन गरेर एक जनाले आत्महत्या गरेका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा आत्महत्याको घटना बढेर ४५ पुगेको थियो । ४५ जनामध्ये झुण्डिएर ४१, विष सेवन गरेर ३ र हाम फालेर एक जनाले आत्महत्या गरेका थिए ।
यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा आत्महत्याको सङ्ख्या झनै बढेर ६० पुगेको इन्स्पेक्टर पौडेलले बताउनु भयो । ६० जनामध्ये ५४ जना झुण्डिएर, पाँच जना विष सेवन गरेर र एक जना हाम फालेर आत्महत्या गरेका छन् ।
उहाँले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहको स्वास्थ्य संस्थाहरुले मनोपरामर्श गर्ने तथा विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्नका लागि अभियान चलाएपनि आत्महत्याको सङ्ख्या बढ्दै गएको पौडेलले जानकारी दिनुभयो ।