INSEC Online

📅 २०८३ जेष्ठ २१

धामीझाँक्री कहाँ पुर्‍याएकी गर्भवतीको स्वास्थ्यकर्मीको पहलमा ज्यान बाँच्यो !

गर्भवतीलाई धामीझाँक्री कहाँ पुर्‍याइएको खबर स्वास्थ्य चौकी उकुमा कार्यरत लीला महरालाई जानकारी भएपछि गर्भवतीको ज्यान जोगिएको छ । मालिकार्जुन गाउँपालिका–६ अम्तोलीका २२ वर्षीया हिरा राउटेको ज्यान स्वास्थ्यकर्मीको सहयोगले जोगिएको हो ।

०८१ पुस १३ गते सुत्केरी व्यथा लागेपछि परिवारले राउटे महिला हिरालाई गाउँमा झारफुकको लागि पुर्‍याइएको थियो ।  सुत्केरी हुनेबेलामा देखिने हातखुट्टा बाउडिने र मुखबाट र्‍याल निकाल्ने एक प्रकारको लक्षण ती महिलामा देखिएको थियो । जिल्लामा एकमात्रै राउटे परिवार बस्छन् ।

राउटे परिवार बस्दै आएको अम्तोली जङ्गलबाट उकु स्वास्थ्य चौकी आँधा घण्टाको दुरीमा पर्छ । उकु क्षेत्रमा एम्बुलेन्स चलाउँदै आएका चालक गणेश महराले सुत्केरी महिलालाई झारफुक गर्न लगिएको खबर स्वास्थ्य चौकी, उकुमा कार्यरत सिनियर अनमी लीलालाई फोनमार्फत जानकारी गराउनुभएको थियो । अनमीले महिलाको अवस्था बारे जानकारी लिदा सुत्केरी व्यथा लागेको थाहाँ भयो । त्यसपश्चात सुत्केरी व्याथा लागेकी महिलाई चालकको सहयोगमा स्वास्थ्य चौकी ल्याइयो । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल, दार्चुलाका डाक्टर सञ्जिव श्रेष्ठ कहाँ जानकारी गराएको अनमी महराले बताउनु भयो ।

यदि समयमै महिलाको अवस्था बारे स्वास्थ्यकर्मीले जानकारी नपाएको भए ती महिलाको ज्यान जोखिममा पर्ने खतरा थियो, सिनियर अनमी महराले भन्नुभयो । जिल्लामा पनि उपचार सम्भव थिएन् । तर, पनि डाक्टरहरुले जोखिम लिएरै शल्यक्रिया गर्न राजी हुनुभयो ।

‘सामान्यतया यस्तो जटिल प्रकारको शल्यक्रियामा जिल्लामा गरिदैन् । हामीले पनि यस्ता केस आइहाले जिल्लाबाहिर रिफर गछौँ,’ जिल्ला अस्पताल, दार्चुलाका डाक्टर श्रेष्ठले भन्नुभयो, ‘परिवारको आर्थिक अवस्था नाजुक भएकै कारण बाहिर रेफर लिन मानेनन् ।’ उकुबाट भारत पिथौरागढ अस्पताल जान सहज पनि हुन्छ । त्यहाँ जान पनि आर्थिक अवस्था नभएपछि महिलाको ज्यान जोखिममा थियो ।

जिल्लामा ल्याएर राति हेलिकप्टरको व्यवस्थापन सम्भव भएन् । केश निकै जटिल थियो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले हेलिकप्टरको लागि पहल पनि गर्नु भयो तर राति हेलिकप्टर ल्याण्ड गर्न सकिने अवस्था नभएको प्रतिक्रिया अयो ।

यस्तो अवस्थामा १० प्रतिशत मात्रै ज्यान जोगाउन सकिने अवस्था रहन्छ । महिलाको पूरै हात खुट्टा समातेर बेहोस गर्नु पर्ने सुइ दिनु पर्यो ।  डाक्टर रञ्जीत पाठक, डाक्टर राजेश अवस्थी तथा डाक्टर सञ्जीव श्रेष्ठलगायतको स्वास्थ्यकर्मीको टोलीले आमा र बच्चा सकुशल बचाउन सकिएको डाक्टर श्रेष्ठले सुनाउनु भयो ।

आफुसँग आर्थिक अभावकै कारण भारतको पिथौरागढ अस्पताल लिन नसकेको पीडित महिलाका पति जनक राउटेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मसँग पैसा थिएन् । एक महिनापछि मात्रै सुत्केरी हुने समय थियो । एकाएक समस्या देखिएपछि के गरौँ भयो ।’ पिथौरागढ गएको भए दुई घण्टाभित्रै पुगिन्थ्यो । सुविधासम्पन्न अस्पताल पनि छ । तर, पैसा नहुँदा स्वास्थ्यकर्मीकै सहयोगमा जिल्ला अस्पतालमा ल्याएको उहाँले बताउनु भयो ।

जिल्लामै सुरक्षित तवरले आमा र बच्चाको ज्यान डाक्टरले जोगाइ दिएकोमा जनक निकै खुसी छन् । विवाह गरेको आठ वर्षपछि बच्चा पाएको छु । अहिले म आमा र बच्चाको स्याहाँरमा लागेको छु । बाहिर भित्र गर्ने कोहि छैन् । एक्लैले सबै व्यवस्थापन गर्नुपरेको उहाँले सुनाउनु भयो ।

अहिले पनि ग्रामीण भेगमा समयमै नियमित गर्भ चेकजाँच गर्नुपर्छ भन्ने समेत चेतना नभएको र धामीझाँक्रीमै विश्वास गर्ने प्रचलन कायमै छ । सिनियर अनमी महरा भन्नुहुन्छ, ती महिलाले सात महिना हुँदा एक पटक मात्रै जिल्ला अस्पताल पुगेर अल्ट्रासाउण्ड गराउनु भयो । नजिकै स्वास्थ्य चौकी हुँदा पनि चेकजाँच गर्न आउनु भएन् । उकु क्षेत्रमा प्राय मुक्त हलिया दलित बस्ती छ । चेतना अभावकै कारण जटिल अवस्था पुग्दामात्रै स्वास्थ्यकर्मीलाई खबर हुने अवस्था छ ।

जङ्गलमा बाँस, दाउँरा बेचेर गुजारा !

मालिकार्जुन गाउँपालिका–६ अम्तोलामा राउटे परिवार बसेको वर्षौँ भइसक्यो । जङ्गलभित्र सानो झुप्रो बनाएर एक परिवार बसेको छ । परिवारमा अहिले तीन जना मात्रै छन् । खरले छाएको घरभित्र परिवारको बसोबास छ ।

जङ्गलमा बसेकै कारण आम्दानीको अरु श्रोत केहि नभए पनि दाउरा बिक्री गरेर घरको गुजारा चलाउने गरेको जनक राउटे बताउनु हुन्छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताले खाद्यान्न जोहो गर्छु । बाँकी दाउँरा बिक्री गरेको श्रोत मात्रै हो ।

आफ्नो तीन भाई र तीन बहिनी भए पनि अहिले गाउँमा जनकसहित उहाँकी पत्नी हिरा र भाई प्रकाश राउटे मात्रै छन् । प्रकाश गाउँकै सरस्वती मावि उकुमा कक्षा ८ मा अध्ययनरत छन् । प्रकाशले अहिले गाउँमै अरुको घरमा काम गर्दै पढ्ने गरेको जनकले गुनासो गर्नु भयो ।

अन्य

भिडियो