INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले पुनः निर्माणको काम थालनी नगर्दा घर नबन्ने चिन्ता

जिल्लामा गत वर्ष कात्तिक १७ गते मध्यरातको भूकम्पले घर भत्किएर टहरामुनी रात बिताउँदै आएका नागरिक चिन्तित बनेका छन् । घरविहिन भएका नागरिकले छिटोछरितो घर पाउने आशा गरे पनि सरकारले पुनः निर्माणको काम अघि नबढ्दा बिचल्लीमा परेका छन् ।

सरकारबाट रकम पाएपछि घर बनाएर न्यानो आवासमा बसौँला भनी पर्खि बसेका नागरिक एक वर्ष बित्दा पनि पाउन सकेका छैनन् । भेरी नगरपालिका–१, मैदेका स्थानीय सुरेन्द्र रानाले सरकारबाट रकम पाएपछि घर बनाउँला भन्दै पर्खि बसेको १ वर्ष १ महिना बित्दा समेत समयमा रकम नआउँदा पुनःनिर्माणको काम अघि बढाउन नसकेको बताउनु भयो । दुई ओटै काम नहुँदा चिसो समयममा ज्यान जोगाउन समेत कठिन भएको उहाँको भनाइ छ ।

भूकम्पको १३ महिना बित्दा समेत न्यानो आवास नहुँदा चिसो समयमा टिनको छानामुनी पीडासँग लडाइँ गर्दै दिनरात बिताउँदै आएका छन् । ज्यालामजदुरीबाट जीवन निर्वाह गरेका नागरिक सरकारबाट रकम आउला र घर बनाउने आशा गरेका नागरिक आशामै एक वर्ष बिताउन बाध्य भएका छन् । ज्यालामजदुरीबाट बिहान बेलुकाको छाक टारेका नागरिक सरकारले दिने घोषण गरेको रकम नपाउँदा न्यानो बास पाउन मुश्किल भएको छ ।

‘भूकम्पले भत्किएपछि सरकारबाट रकम पाउँला र बनाउने भन्ने आशा गरेका नागरिक १ वर्ष १ महिना बित्दा पनि न रकम आयो न घर बने । फेरी पनि चिसो समयमा टिनको छानामुनी बस्नु पर्ने भयो’ – भेरी नगरपालिका–३ का स्थानीय सुरेन्द्र खत्रीले बताउनु भयो । पुनःनिर्माणको त कुरै छोडौँ एक वर्षसम्म बित्दा पनि स्थानीय तहले अस्थायी आवासका लागि सरकारबाट प्राप्त दोस्रो किस्ता नदिँदा आवास निर्माणमा लागेको कर्जा तिर्न सकेका छैनन् । भूकम्प गएको तीन महिना भित्र अस्थायी आवासको रकम वितरण गर्नुपर्ने हो तर स्थानीय सरकारको ढिलासुस्तीले एक वर्षसम्म पनि पाउन नसकेको भेरी नगरपालिका–३ का स्थानीय शिव प्रसाद शर्माले बताउनु भयो । पुनः निर्माणमा जुट्नुपर्ने बेलामा स्थानीय सरकारले दोस्रो किस्ता दिन सकेको छैन भने नागरिकले सो रकम पाउन सकेका छैनन् ।

स्थानीय तहले भूकम्पबाट चर्किएका घर भत्काएपछि दोस्रो किस्ताको रकम दिने निर्णय गरेपछि पीडित बिचल्लीमा परेका छन् । घरवारविहिन टिनमुनी दिनरात बिताउँदै आएका नागरिक सुरक्षित घर पाउने आशामा बसेका छन् । सरकारले पुनःनिर्माणको काम अघि नबढाउँदा भेरी नगरपालिका–३ की स्थानीय भावना भण्डारीले सरकारले रकम नदिएपछि टिनको छानामुनी न्यानो कपडा ओडे ओछ्याए पनि टिनमुनी चिसोले सताउने गरेको बताउनु भयो । धेरै चिसो भए चर्किएको घरमै फर्किने उहाँले बताउनु भयो ।

त्यसैगरी जनताको काममा ढिलासुस्ती गरेको भन्दै कार्यपालिका सदस्यद्वारा भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । भेरी नगरपालिका कार्यपालिका सदस्यको नेतृत्वले जनताको काम ढिलासुस्ती गरेको भन्दै प्रशासनिक भवनमा ताला लगाउँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । भेरी नगरपालिकाका बहुमत कार्यपालिका सदस्यले कार्यपालिकाको बैठक बस्न नेतृत्वलाई लिखित तथा मौखिक जानकारीको वेवास्था गरी दुई महिनासम्म बैठक बस्न नसकेकाले कार्यालय बैठकमा छलफलका माग राखि सयुक्त विज्ञप्ति निकालिएको छ ।

भेरी नगरपालिका-८ का वडा अध्यक्ष विरबहादुर चन्द र वडा नम्वर १० का वडा अध्यक्ष दलबहादुर रानाको पुस १६ गते संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गत वर्ष कात्तिक १७ गते गएको भूकम्प धनजनको क्षति बेहोरेका जनताले निर्माण गरेका अस्थायी आवासको दोस्रो किस्ता छिटोछरितो भुक्तानी गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले व्यवस्था गर्नुपर्ने, शिक्षक दरबन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वय गर्नुपर्ने, सहरी शासकीय तथा पुर्वाधार आयोजना अन्तर्गत विनियोजन भएका योजनाहरूको समीक्षा, नगरसभाको निर्णय कार्यन्वयन गर्नुपर्ने, भेरी नगरपालिका अन्तर्गत रहेका कर्मचारीले मिसन ८४ को निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा लेखिएका क्रियाकलापको विषयमा कानुनी कारवाही गर्नुपर्ने, भेरी नगरपालिकाको दरबन्दी तेरिजी अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

Photo31122024Jajarkot

अन्य

भिडियो