२२ वर्षीया महिलाको हत्या गरेको आरोपमा सर्लाहीको चक्रघट्टा-९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पर्सा जिल्ला प्रहरी कार्यालयको समन्वयमा ०८१ पुस १ गते पर्साको वीरगञ्ज महानगरपालिका-४ मा लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले असोज २८ गते इलाका प्रहरी कार्यालय, बर्दिबासमा उजुरी दिनुभएको थियो ।
पीडित महिला र आरोपित यादव एकअर्कासँग प्रेम सम्बन्ध थियाे । प्रेम सम्बन्धलाई विवाह बन्धनमा रुपान्तरण गर्ने उद्देश्यले पीडित र आरोपित असोज २२ गते बर्दिवास नगरपालिका-५ स्थित टुटेश्वर मन्दिर गएका थिए । विवाह गर्ने निश्चय भएपनि विवाहमा अभिभावकलाई बोलाउने अथवा नबोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि कुटपिट भएको थियो । कुटपिटको क्रममा आरोपित यादवले महिलाको घाँटीमा डोरीले बाँधि थिँचि हत्या गरेको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
डोरिले घाँटी कसिएपछि घटनास्थलमै महिलाको मृत्यु भएको आरोपितले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
शव असोज २३ गते टुटेश्वरमा बेवारिसे अवस्थामा भेटिएको थियो । शवको पोष्टमार्टम असोज २८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले जानकारी दिनुभयो ।
आरोपित यादवविरुद्ध जिल्ला अदालतमा पुस २ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि सात दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।