डाक्नेश्वरी नगरपालिका-१ माधोपुरकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय तह उपनिर्वाचन ०८१ मा मङ्सिर १६ गते निर्वाचित भएका वडाध्यक्षलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
बलात्कार, अपहरण तथा शरीर बन्धक र हत्या घटना आरोपमा अनुसन्धानका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार ३८ वर्षीय धिरेन्द्रकुमार साहलाई मङ्सिर २० गते वडाध्यक्षको पदभार ग्रहण समारोहस्थलबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
नवनिर्वाचित वडाध्यक्षले ०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका-१ माधोपुरकी एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले मङ्सिर २१ गते विज्ञप्ति जारी गरी जनाएको छ ।
आरोपितविरुद्ध ०७९ साउन १७ गते हुलाक मार्फत प्राप्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आरोपितविरुद्ध ०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय, सप्तरीबाट इलाका प्रहरी कार्यालय, कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य जयान शीर्षकमा उजुरी प्राप्त भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत जनकपुर, राजविराजबाट ०८० चैत ४ गते परमादेश जारी भइ सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ साउन ६ गते सोही परमादेश प्राप्त भएकोमा ०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गरेको विज्ञप्तीमा उल्लेख छ ।
नवनिर्वाचित वडाध्यक्ष विरूद्ध ०८१ साउन १५ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोले आरोपितलाई अनुसन्धानका लागि ०८१ मङ्सिर २० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आरोपित ०८१ मङ्सिर १६ गते सम्पन्न भएको स्थानीय तह उपनिर्वाचन ०८१ मा डाक्नेश्वरी नगरपालिका-१ को वडाध्यक्ष पदका लागि ६ सय ५२ मत प्राप्त गरी विजय भएका थिए ।