चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।
लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण मानिस तथा मोटरसाइकललाई नदी वारपार गर्नका लागि सो भाडा लिने गरेको स्थानीयले गुनासो गरेका हुन् । पिप्लाङका स्थानीय व्यक्तिले निर्माण गरेको तुइनमा यात्रु तथा मोटरसाइकल र पैदल यात्रु तारेको भाडा छुट्टाछुट्टै लिने गरेको यात्रु सन्तोस बोहराले गुनासो गर्नुभयो ।
उहाँले एक जना मानिस तरे बापतको १ सय ५० रुयिपाँ र एउटा मोटरसाइकल तारेको भाडा १ हजार ५ सय रुपियाँ लिने गरेको गुनासो गर्नुभएको छ । तुइनमा मोटरसाइकल तार्न बीस मिनेट समय लाग्ने गर्छ भने मानिस तार्न कम्तीमा तीन मिनेट लाग्ने गर्दछ ।
लोती नदी वारिपारी सडक निर्माण भएर मोटरसाइकलहरू सञ्चालन हुँदै आएका छन् । नदीमा मोटरसाइकल तारी सकेपछि यात्रुहरूले त्यसैमा चढेर सिमकोट र उता देउली हुँदै मुगु जिल्लासम्म यात्रुहरू पुग्ने गर्छन् । मोटरसाइकल चालकले अन्य बिकल्प नभएपछि महङ्गो तुइन भाडा तिरेर भएपिन मोटरसाइकल तार्नुपर्ने बाध्यता रहेको चालक झलक परियारले गुनासो गर्नुभयो ।
चंखेली गाउँपालिका–४ का स्थानीयले आफ्नो क्षेत्र परेका भन्दै यात्रुले समेत तुइन तरेको भडा असुली गरेपछि यात्रु पनि मर्कामा परेको यात्रु सुरेन्द्र सिंहले उल्लेख गर्नुभयो । नेपाल सरकारले विगत लामो समयदेखि नेपाल तुइन विस्तापित भने पनि हुम्लाका नागरिक अझै तुइनको भर पर्नुपर्ने बाध्यता छ ।
चंखेली गाउँपालिका–४ विद्यार्थी समेत चंखेली गाउँपालिका–२ को महादेव मावि दार्मामा विहान बेलुका आवत जावत गर्नु पर्ने बाध्यता रहेको चंखेली गाउँपालिका–४ का वडा अध्यक्ष पदमबहादुर शाहीले बताउनु भयो । उनीहरू सबैले जोखिम मोल्दै विद्यालयमा पुग्नु पर्ने बाध्यता रहेको वडा अध्यक्ष शाहीको भनाइ छ । लोती नदीमा पुल निर्माणको बारेमा स्थानीय तहमा जानकारी गराएको उहाँले बताउनु भयो ।
