पाथीभरा क्षेत्रमा केवलकार निर्माणको शिलान्यासको क्रममा फुङलिङ नगरपालिका-४ मा कात्तिक २३ गते भएको झडपमा ६ जना घाइते भएका छन् ।
झडपमा शसस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली र असइ अविनाश माझी घाइते हुनु भएको छ ।
प्रसिद्ध तीर्थस्थल पाथीभरामा केवलकार बनाउने र त्यसका लागि ०८१ कात्तिक २३ गते शिलान्यास गर्ने क्रममा निर्माण गर्ने र केवलकार निर्माण गर्न नदिने पक्षबिच भएको झडपमा केवलकार निर्माण गर्ने पक्षका फुङलिङ नगरपालिका-४ का अन्दाजी ३७ वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिकाका-४ का अन्दाजी ३५ वर्षीय कुमार शेर्पा घाइते हुनु भएको हो ।
पाथीभरा क्षेत्रको मौलिकता नास हुने भएकाले केवलकार निर्माण गर्न नदिने फुङलिङ नगरपालिका ४ का अन्दाजी ४३ वर्षीय चन्द्र मादेन र पाथीभरा क्षेत्रमा तिर्थयात्रीको सहयोगी फक्ताङलुङ गाउँपालिकाका-५ का अन्दाजी ३९ वर्षीय अर्जुन लिम्बू घाइते हुनु भएको हो ।
घाइते सबै जनाको तमोर अस्पताल र जिल्ला अस्पताल, ताप्लेजुङमा उपचार भएको छ ।
फुङलिङ नगरपालिका-४ स्थित तल्लोफेदीस्थित काफ्ले पाटीमा केवलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम कात्तिक २३ गते राखिएको थियो ।
शिलान्यास कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थलमा पुग्नु भएको थियो । तर, शिलान्यास सुरू भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुङ्गा प्रहार गरेका थिए ।
‘विरोधका बिच, एक्साभेटर चलाएर केवलकार शिलान्यास गरिएको फुङ्लिङ नगरपालिका मेयर अमिर मादेनले बताउनु भयो ।
मुक्कुमलुङ संरक्षण समितिसहित केवलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।
प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केवलकारले थप सहज गर्ने र ताप्लेजुङको पर्यटकीय महत्व बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन ।


