INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

‘सबैका लागि घरघरमा मानव अधिकारः शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ दुई दिने मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन कात्तिक २६ गते ललितपुरको जावालाखेलमा सुरू भएको छ ।

Photo20171112Lalitpur

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सुरू भएको सो सम्मेलनमा मानव अधिकारको अवस्था र चुनौती, मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधनका उपाय, महिला मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौती, सङ्क्रमणकालीन न्यायका संयन्त्रको प्रभावकारिता र भावी कार्यदिशा, नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको अवस्था र चुनौतीलगायतका विषयमा समूहसमूहमा छलफल गरिने जनाइएको छ ।

भेलामा सात आटै प्रदेशमा कार्यरत मानव अधिकारकर्मीहरूको सहभागिता रहेको आयोगले जनाएको छ ।

भेलाको उद्घाटन गर्दै आयोगका अध्यक्ष अनूपराज शर्माले मानव अधिकारका क्षेत्रमा कार्यरत मानव अधिकारकर्मीहरू जोखिम मोलेर काम गरेकोमा प्रशंसा गरे ।

जोखिमयुक्त समय एवम् परिस्थितमा पनि मानव अधिकार रक्षकहरूले मानव अधिकारको रक्षाको निमित्त खटिरहेको बताउँदै आयोगका अध्यक्ष शर्माले हरेक मानवको अधिकार रक्षा गर्ने जिम्मेवारी सरकारको भएको पनि बताए ।

आयोगले सोचेजस्तो परिणाम देखिने गरी कार्य गर्न नसकेको स्वीकार गर्दै अध्यक्ष शर्माले आउने दिनमा पीडितले न्याय पाएको महशुस हुने गरी आयोगले काम गर्ने बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वकालमा भएका हिंसाको घटनाको आयोगले छानबिन गरिरहेको बताए । समय एवम् कानुनको अभावमा सोचे जस्तो कार्य गर्न नसकेको बताउँदै उनले पीडितलाई न्याय दिलाउनका लागि आयोगले काम गरिरहेको बताए ।

आयोग रहेपनि नरहेपनि पीडितले न्याय पाउनुउर्ने बताउँदै उनले बेपत्ता आयोग नरहे त्यसको काम पनि राष्ट्रिय मानव अधिकार आयोगमा सरेर आउने तर्क प्रस्तुत गरे ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले आयोगको स्थापनाका लागि मानव अधिकारकर्मी एवम् नागरिक समाजको प्रमुख भुमिका भएको भएपनि आयोगले नागरिक संस्थासँग समन्वय गर्न नसकेको गुनासो गरे ।

Photo20171112Lalitpur1

उनले भने-‘हामी सबैको मूल ध्येय सामाजिक न्याय हो । तर, आयोगले पीडितलाई न्याय महशुस हुने गरी का मगर्न सकेको छैन ।’

मानव अधिकारको रक्षा, मानव अधिकार रक्षकहरूको हकहित एवम् पीडितलाई न्याय महाशुस हुने गरी काम गर्न अध्यक्ष प्याकुरेलले आयोगसँग आग्रह गरे । उनले भने-मानव अधिकार रक्षकका अधिकार स्थापित गर्न पनि आयोग चुकेको छ ।’

गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतमले मानव अधिकारको रक्षा, पीडितलाई न्याय तथा पीडकलाई कारवाही गराउनका लागि गैससले आयोगसँग सहकार्य गर्दै आएको र आउने दिनमा समेत सहकार्य गर्न तयार रहेको बताए ।

Photo20171112Lalitpur2

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मानव अधिकारको रक्षा र प्रेस स्वतन्त्रताका लागि सहकार्य गर्न पत्रकार महासङ्घ तयार रहेको बताए ।

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयमा कार्यपत्र पस्तुत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार रक्षकको ज्यानको सुरक्षाका लागि आयोग एवम् सरकार सम्वेदनशील हुनुपर्ने बताए ।

मानव अधिकारको रक्षाका लागि दिनरात खटिरहने मानव अधिकार रक्षकको ज्यान कतिपय समयमा जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । गौतमले प्रस्तुत गरेको कार्यपत्रमा अधिकारकर्मी डा. रेणु अधिकारी र विष्णुपुकार श्रेष्ठले टिप्पणी गरेका थिए ।

यसैगरी मानव अधिकारको अवस्था र चुनौती विषयमा यज्ञप्रसाद अधिकारीले प्रस्तुत गरेको कार्यपत्रमा डा. सुर्य ढुङ्गेल र सुदर्शन सुवेदीले टिप्पणी गरेका थिए ।

यस्तै महिला मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौतीको विषयमा लिली थापाले प्रस्तुत गरेको कार्यपत्रमा अधिकारकर्मी उशा पाठक र मिरा ढुङ्गानाले टिप्पणी गरेका थिए ।

अन्य

भिडियो