रम्भा गाउँपालिका–१, नौगाउँस्थित जनप्रिय आधारभुत विद्यालयको कार्यालय सहयोगी भूमिका सारुले आधा घण्टाभन्दा बढी समय लगाएर तल फेदीबाट उकालो बाटो डोकोमा पानी बोकेर ल्याउनुहुन्छ । उहाँले दिनमा पाँच पटकसम्म यसैगरी असिनपसिन भएर पानी बोक्नुहुन्छ । विद्यालयमा १ सय ९ जना विद्यार्थी छन्, शिक्षक, अभिभावकलाई यसरी बोकेर ल्याइएको पानी ठिक्क हुन्छ । शौचालय लगायत अन्य सरसफाईका लागि सधैँ पानी अभाव हुने गरेको छ ।

विद्यालयले पानीको सधैँ यस्तै अभाव झेल्दै आएको विद्यालयका प्रधानाध्यापक दामोदर सुवेदीले बताउनु भयो । विद्यालयमा दिनमा ६ पटकसम्म डोकेमा पानी बोकाउनुपर्ने बाध्यता भएको उहाँले बताउनु भयो । शिशु कक्षादेखी अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन्, यहाँ सरसफाइका लागि पनि पानी छैन । विद्यालयमा कुनै स्रोत नभएको र सरोकारवाला अन्य निकायको चासो नभएका कारण खानेपानीको समस्या झेल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । अन्य विकल्प नभएकोले कुवाको पानी बोकेर ल्याइने गरेको पानीको शुद्धताको विषयमा पनि समस्या रहेको उहाँले बताउनु भयो ।
वर्षातको समय होस् वा हिउँद यस विद्यालयमा खानेपानीको उस्तै अभाव हुने गर्दछ । विद्यार्थीहरू साना भएका कारण पनि विद्यालयमा सबैजसोलाई बोकेरै खानेपानी पुर्याउनुपर्ने कार्यालय सहयोगी सारुको दैनिकी बनेको छ । यतिमात्र होइन विद्यालयका नियमित ड्युटी त छँदैछ । विद्यालयका अभिभावक विष्णु पाठकले बल्लतल्ल पिउने पानी बोकेर व्यवस्था गर्न सकिएपनि शौचालय सहित अन्य सरसफाइका लागि पानी अभाव भएको बताउनु भयो ।
विद्यालयमा खानेपानीको आपूर्ति गर्ने कुनै स्रोत नभएका कारण डोकोमै बोकेर खानेपानी पुर्याउनुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर सिंजालीले बताउनु भयो । ‘विद्यालयमा खानेपानी अभाव भएको धेरै भयो । यहाँका स्थानीय सरकारले भनेको सुन्दैन । हामीसँग कुनै आफ्नै स्रोत छैन । अध्यक्ष सिंजालीले भने, विद्यार्थीको आधारभूत आवश्यकता पुरा हामी अप्ठ्यारो गरी भए पनि पुरा गरेका छौँ’ – उहाँले भन्नुभयो ।

