लुम्बिनी प्रदेशका सांसद तथा पूर्व सामाजिक विकास मन्त्री ३२ वर्षीय चन्द्रकेश (सिके) गुप्तामाथि ०८१ कात्तिक १० गते नेपाली काँग्रेसका कार्यकर्ताहरूको समूहले दुर्व्यवहार गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा काँग्रेस कार्यकर्ता र जनमत पार्टीका कार्यकर्ताहरूबीचमा भनाभन भएपछि काँग्रेस कार्यकर्ताहरूले काम छ भनी पर्सा चोकमा भेट्न बोलाएर एक्कासी आक्रमण गरेको र दुवै पक्षबीच विवाद भएको थियो ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय, लुम्बिनीको टोलीले विवादलाई तितर वितर पारि एक जनालाई नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालयमा ठूलो भिड लागेको र सोही समयमा पुगेका पूर्व सामाजिक विकास मन्त्री प्रदेश सभा सदस्य गुप्ता इलाका प्रहरी कार्यालयमा पुग्दा काँग्रेस कार्यकर्ताहरूले आफू चढेको गाडीमा आक्रमण गरेको सांसद गुप्ताले बताउनु भयो ।आक्रमणबाट गाडीको पछाडि बसेका लुम्बिनी साँस्कृति नगरपालिका–७ का २४ वर्षीय विद्याचल यादव घाइते भएका छन् । यादवका खुट्टा र मुखमा चोट लागेको सांसद गुप्ताले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर दिपक मगरातीले सामाजिक सञ्जालमा दुई पक्षबीच भएको विवाद र आरोपित पक्षहरूले पर्सा चोकमा बोलाएर आक्रमण गरेको भनी प्रहरीलाई खबर प्राप्त भएको र घटनास्थलको भिडलाई हटाएर एक जनालाई समातेको र सो भिडले इलाका प्रहरी कार्यालय घेराउ गरी दुई समूहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा हातपात भएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी आफ्नो कार्यालयमा राखी झण्डै तीन घण्टा कार्यालयमा सुरक्षित राखेको र कार्यालय परिसरमा २ सय जना युवाहरूको समूहले घेराउ गरेको उहाँले बताउनु भयो ।
पूर्व सांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताउनु भयो । गुप्ताले भन्नुभयो – ‘प्रहरी कार्यालयको गेट अगाडिनै ममाथि हातपातको प्रयास भयो, मसँगै रहेका दुई जना साथीहरू मध्ये एक जनालाई उनीहरूले बाहिर निकालेरै कुटपिट गरे । सायद म पनि गाडीबाट बाहिर निस्किएको भए उनीहरूले ज्यान नै लिने थिए होला । मुस्किलले ज्यान बचाएर तीन घण्टा प्रहरी कार्यालयभित्र बसेर बाहिर निस्केको थिएँ ।’
इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर मगरातीका अनुसार भैसहियामा युवाहरूबीच विवाद उत्पन्न भएको थियो । उक्त विवादमा पूर्व सांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद सिके गुप्ता समर्थकबीचको समूह आपसमा भिडेका थिए ।