आर्थिक अभावका कारण मर्मतसम्भार नहुँदा सदरमुकामको पशुपति चौलागाईं स्मृति अस्पतालमा रहेको अक्सिजन प्लान्ट तीन महिनादेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।
अक्सिजन प्लान्टको मुख्य पाइपमा समस्या आएका कारण अक्सिजन उत्पादन बन्द भएको तीन महिना भइसकेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल सञ्चालक समिति दोलखाका अध्यक्ष भरत प्रधानले जनाकारी दिनु भयो ।
उहाँका अनुसार बिग्रिएको प्लान्टको समयमा मर्मत–सम्भार नहँदा प्लान्ट सञ्चालन गर्न र अक्सिजन उत्पादन गर्न नसकिएकोले अन्यत्रबाट बढी रकम तिरेर अक्सिजन ल्याउने वा बिरामीलाई अन्य अस्पतालमा पठाउने गरिएको छ । मेलुङ गाउँपालिका–१ का पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारमा आउनुभएका सञ्जय उप्रेतीले अक्सिजन अभावमा निजी अस्पतालमाा उपचार गराइरहेको बताउनु भयो ।
अध्यक्ष भरत प्रधानका अनुसार स्वदेशमा पार्टपुर्जा नपाउने, जुन कम्पनीले प्लान्ट जडान गरेको हो त्यही कम्पनीले प्लान्टको पार्टपुर्जा ल्याउनु पर्ने र मर्मतका लागि करिब १० लाख रुपियाँ लाग्ने भए पनि अस्पतालमा आर्थिक अभाव भएका कारण प्लान्ट मर्मत–सम्भारमा समस्या भएको बताए ।
मर्मतका लागि रकम व्यवस्थापन गर्न सङ्घ र प्रदेशमा माग गरिएको छ । पार्टपुर्जा चिनबाट ल्याएर सम्म मर्मत–सम्भार गरि सञ्चालनमा ल्याईने तयारी गरिएको भएपनि आर्थिक अभाव भएका कारण समस्या भएको अध्यक्ष प्रधान बताउनु भयो । उक्त अक्सिजन प्लाण्ट २०७७ सालमा ७३ लाख ७३ हजार रुपैयाँ लागतमा जडान गरिदिएको थियो ।