INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

महालक्ष्मी नगरपालिका-५ की ८० वर्षीया ज्येष्ठ नागरिक मसिनी माझी नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको छ ।

माझीका पतिको मृत्यु भएको ३५ वर्ष पुग्दा पनि उहाँको नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु भएको हो । महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा रहेको केशव श्रेष्ठको घरमा माझी बस्दै आउनु भएको छ । त्यहाँ बस्न थालेको २० वर्ष भइसकेको छ ।

नागरिकता बनाउनुपर्छ भन्नेसमेत उहाँलाई थाहा नभएको केशव श्रेष्ठले बताउनु भयो । श्रेष्ठका परिवारले माझीलाई आश्रय दिएको र बस्नलाई श्रेष्ठले भूकम्पपछि बनेको घर दिएको बताउनु भयो । घरको हेरचाहसँगै सरसफाइको काममा माझीले श्रेष्ठको परिवारलाई सघाउँदै आउनु भएको छ ।

मसिनी माझी बोल्न नजान्ने तथा हिड्डुल गर्न सक्नुहुन्छ । माझीका पाँच जना छोराछोरी भए पनि उहाँका परिवारका सदस्य अलग्गै बस्छन् । छोराछोरी पनि लेगुवामै छन् । मसिनीको नागरिकता बनाउन परिवारका सदस्यहरूले चासो नदिएको केशव श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नुभयो-उहाँले अहिलेसम्म गाडी चढ्नु भएको छैन र गाडी चढ्न मान्नु हुन्न ।

अटो टेम्पो रिजर्भ गरेर वडा कार्यालय लैजान्छुभन्दा समेत नमानेको श्रेष्ठले बताउनु भयो । मसिनी माझीले अहिलेसम्म चप्पल नलगाई खाली खुट्टा हिड्ड्डुल गरेको र चप्पल किन्दियो भने लगाउन नमानेको श्रेष्ठले बताउनु भयो । ’सरकारले अशक्त ज्येष्ठ नागरिकलाई घरमै नागरिकता दिन्छन् भन्ने सुनेको थिएँ’, उहाँले इन्सेककर्मीसँग भन्नुभयो ’आवश्यक कागजात पुर्‍याएर घरमै नागरिकता दिन मिल्छ भने पहल गरिदिन अनुरोध गर्छु ।’

महालक्ष्मी नगरपालिका-५ का वडाध्यक्ष सन्तबहादुर कुँवरले नागरिकता सिफारसिका लागि आवश्यक कागजपत्र जुटाउने काम भइरहेको बताउनु भयो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकताबाट वञ्चित भएको विषयमा कानुनी व्यवस्थाको बारेमा बुझ्ने र स्थानीय तह, मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोज्ने बताउनु भयो । उहाँले आवश्यक सहजीकरण गरिदिन इन्सेककर्मीलाई समेत आग्रह गर्नु भएको छ ।

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।

धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

Photo 202401025 Dhankuta

अन्य

भिडियो