चौतारा साँगाचोकगढी नपा-१४ मा रहेको गोल्मादेवी खानेपानी आयोजनाको इन्टेक तथा मुख्य लाइन पुनःनिर्माण नहुँदा डडुवा गाउँका ५३ घर परिवार स्वच्छ खानेपानी पीउनबाट वञ्चित भएका छन् ।
असोज ११ र १२ गते आएको बाढी र पहिरोले डडुवा गाउँमा हाँडीखोलाको सिरानबाट ल्याएको खानेपानीको मुहानमा रहेको इन्टेक र मुख्य लाइन बाढी र पहिरोले पुर्ण क्षति गरेको थियो । पहिरोले क्षति गरेको खानेपानी पुनःनिर्माण नहुँदा सम्म त्यस डडुवा बस्तीमा स्वच्छ खानेपानीको समस्या भएको चौतारा साँगाचोकगढी नपा १४ का वडा अध्यक्ष उद्धव नेपालले बताउनु भयो ।
डडुवा गाउँमा लगेको गोल्मादेवी खानेपानीको मुहानमा रहेको इन्टेकलाई पहिरोले क्षति गरेको छ भने ३५ एमएम फलामे पाइप र २० एमएमको १४ सय पोलिथिन पाइप पहिरोले नष्ट गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजिन नं. ३ का इन्जिनियर आनन्द पौड्यालले बताउनु भयो ।

पहिरोले क्षति गरेको खानेपानी आयोजना चालु हुन नसक्दा चौतारा साँगाचोकगढी नपा-१४ स्थित डडुवाका ५३ घर परिवारहरू गाउँमा रहेको पुरानो ढुङ्गे पँधेराको भरपर्नु परेको स्थानीय अम्विका नेपालले बताउनु भयो । सुख्खा याममा ढुङ्गे पँधेरामा पानी सुक्ने भएकाले त्यतिखेरसम्म पनि क्षति भएको खानेपानी आयोजना पुनःनिर्माण नभएमा गाउँलेहरूलाई खानेपानीको थप सङ्कट आउने स्थानीय अम्विका नेपालले चिन्ता व्यक्त गर्नु भयो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन नं. ३ कार्यालयका अनुसार असोज ११ र १२ गते आएको बाढी पहिरोले सिन्धुपाल्चोक जिल्लामा चालु रहेका १ सय ८५ ओटा खानेपानी आयोजनाहरूमा क्षति पुर्याएको थियो । पहिरो तथा बाढीले क्षति गरेका कतिपय खानेपानी योजनाहरू स्थानीय तह तथा उपभोक्ताहरूको सक्रियतामा पुनः चालु अवस्थामा आएको छ भने कतिपय खानेपानी आयोजनाहरूमा ठूलो लागत लाग्ने भएकाले चालु गराउन समस्या भएको इन्जिनियर आनन्द पौडेलले बताउनु भयो ।

इन्जिनियर पौडेलका अनुसार पहिरो तथा बाढीले क्षति गरेका खानेपानी आयोजनाहरूमा चौतारा साँगाचोकगढी नगरपालिकामा ४१ ओटा, बाह्रविसे नगरपालिकामा २२ ओटा, मेलम्ची नगरपालिकामा १२ ओटा, हेलम्वु गाउँपालिकामा एक, पाँचपोखरी थाम्पाल गाउँपालिकामा नौ ओटा, इन्द्रावती गाउँपालिकामा ३३ ओटा, जुगल गाउँपालिकामा तीन ओटा, बलेफी गाउँपालिकामा २१ ओटा, सुनकोशी गाउँपालिकामा २० ओटा, लिसङ्खुपाखर गाउँपालिकामा चार ओटा, भोटेकोशी गाउँपालिकामा १७ ओटा, त्रिपुरासुन्दरी गाउँपालिकामा दुई ओटा खानेपानी आयोजनाहरूमा क्षति पुगेको थियो ।
